सिड्नीमा तमु ल्होछार २८६२ भव्य रूपमा सम्पन्न

सिड्नी । अस्ट्रेलियामा रहेका नेपाली समुदायले यस वर्ष पनि तमु ल्होछार भव्य रूपमा मनाएका छन्। तमु समाज सिड्नीको आयोजनामा तमु समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व तमु ल्होछार (त ल्हो–घोडा वर्ग) डिसेम्बर ३० तारिख माराना अडिटोरियम, हर्स्टभिलमा हर्षोल्लासका साथ सम्पन्न भएको हो। बेलुकी ५ बजेबाट सुरु भएको कार्यक्रम लामा गुरुबाट विधिपूर्वक मन्त्रोच्चारण तथा पूजाआजासहित प्रारम्भ गरिएको थियो।धार्मिक विधि सम्पन्न भएपछि कार्यक्रम औपचारिक र सांस्कृतिक गरी दुई चरणमा सञ्चालन गरिएको थियो।कार्यक्रमका संयोजक तथा तमु समाज सिड्नीका अध्यक्ष हिउपति गुरुङले तमु समुदायले आफ्ना मौलिक संस्कार, संस्कृति र परम्परालाई जगेर्ना गर्दै प्रवासमा पनि ल्होछार निरन्तर मनाउँदै आएको उल्लेख गर्दै यस वर्ष पनि भव्य रूपमा कार्यक्रम सम्पन्न गर्न पाउँदा खुसी व्यक्त गरे ।  कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सबैप्रति धन्यवाद व्यक्त गर्दै ल्होछारलाई आगामी वर्षहरूमा अझ परिस्कृत बनाउँदै लैजाने प्रतिबद्धता जनाए।कार्यक्रममा सम्बोधन गर्दै एनआरएनए अस्ट्रेलियाका पूर्व अध्यक्ष नन्द गुरुङले गुरुङ समुदायले सांस्कृतिक गतिविधिसँगै सामाजिक, आर्थिक तथा देश विकासका विभिन्न क्षेत्रमा पनि सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्दै समुदायको एकता र सहभागिताले बृहत्तर हित हुने विश्वास व्यक्त गरे ।औपचारिक कार्यक्रमपछि सुरु भएको सांस्कृतिक कार्यक्रममा तमु संस्कार, संस्कृति र परम्परा झल्किने नृत्य, गीतसंगीत, परम्परागत भेषभूषा र मौलिक प्रस्तुतिहरू प्रस्तुत गरिएका थिए। कौडा किङ गणेश गुरुङ र लोकदोहोरी गायक भीमु गुरुङको बेजोड सांगीतिक प्रस्तुतिले दर्शकहरूलाई झुमाएको थियो। साथै अन्य स्थानीय कलाकारहरूको नृत्य र गीतले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।कार्यक्रम अवधिभर हल तमु समुदायको पहिरन, बाजागाजा र सांस्कृतिक रौनकले भरिएको थियो। राति करिब १० बजेसम्म चलेको कार्यक्रममा विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, एनआरएनएका पदाधिकारीहरू तथा विभिन्न समुदायका व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। साथै विभिन्न संघसंस्थाका प्रतिनिधि तथा विशिष्ट व्यक्तिहरूलाई सम्मानसमेत गरिएको थियो।तमु समाज सिड्नीले प्रवासमा रहँदै पनि तमु समुदायको भाषा, संस्कृति र पहिचान संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गर्दै आएको जनाएको छ। आयोजकका अनुसार तमु ल्होछार कार्यक्रमले समुदायबीच एकता, आपसी सद्भाव र सांस्कृतिक चेतनालाई अझ सुदृढ बनाएको छ।