सिड्नी।एनआरएनए अस्ट्रेलियाका पूर्व अध्यक्ष नन्द गुरुङ नन्द गुरुङद्वारा लिखित पुस्तक “नेपाल र विश्वभरका गुरुङ समुदायको उत्थान : सफलताको उपाय” को सिड्नीको ओबर्नस्थित ग्राण्ड प्यालेस फङ्सन सेन्टरमा नोभेम्बर ९ आइतवार भव्य लोकार्पण गरिएको छ । करिब ३० वर्षदेखि अष्ट्रेलियालाई कर्मथलो बनाउँदै आएका सफल व्यवसायी तथा समाजसेवी नन्द गुरुङको पुस्तक लोकार्पण कार्यक्रम प्रमुख अतिथि महामहिम राजदूत चित्रलेखा यादव, विशेष अतिथि न्यू साउथ वेल्सका वाणिज्यदूत सन्जीव शर्मा तथा नेपालबाट आएका बर्डलाइफ इन्टरनेशनल (एशिया) का वरिष्ठ साझेदारी प्रबन्धक डा. हुम बहादुर गुरुङले संयुक्त रूपमा सम्पन्न गराए। कार्यक्रमको सुरुवातमा अतिथिहरूले पुस्तक लेखन कार्यलाई प्रवासी नेपालीहरूको गौरव भएको उल्लेख गर्दै लेखकप्रति बधाई तथा सम्मान व्यक्त गरे।
कार्यक्रमको अन्त्यमा लेखक नन्द गुरुङले सबै अतिथिहरू, आयोजक तथा सहभागीहरूप्रति आभार व्यक्त गर्दै पुस्तक आफ्नो जीवनका संघर्ष, अनुभव र आत्मअनुभूतिको प्रतिबिम्ब भएको बताए। उनले पुस्तक लेखनमा परिवार, समुदाय तथा सहकर्मीहरूको निरन्तर समर्थनले ठूलो प्रेरणा दिएको उल्लेख गरे।वक्ताहरूले पुस्तकले प्रवासी नेपालीहरूमा नेतृत्व क्षमता, आत्मबल र सफलतामूलक सोच विकास गर्न मद्दत गर्नेमा जोड दिएका थिए।
कार्यक्रममा तमु समाज सिड्नीका अध्यक्ष हिउपती गुरुङ, समाजसेवी इन्द्र वन र नारायण प्रधान, एन्जाका सल्लाहकार डिल्ली ढकाल, मनोचिकित्सक विशेषज्ञ डा. घनश्याम चापागाईं, विष्णु हमाल, अष्ट्रेलियन नेप्लिज जर्नलिस्ट असोसिएसनका अध्यक्ष कृष्ण तिवारी, थारु समाजका अध्यक्ष दीप नारायण चौधरी, नवाज अध्यक्ष चिरन तिवारी, नेपाली कला संस्कृति प्रतिष्ठानकी अध्यक्ष सुजता बस्नेत, जनसम्पर्क समितिका अध्यक्ष सुरेश गुरुङ, साउथ वेष्ट नेपाली कम्युनिटीका अध्यक्ष चतुर्भुज खरेल, महासचिव प्रकाश पौडेल तथा साहित्यकार ममता तिवारीलगायत अनेक समुदाय अगुवाहरूको उपस्थिति थियो। विभिन्न क्षेत्रका प्रतिष्ठित अतिथिहरू, पत्रकार, साहित्यप्रेमी तथा नेपाली समुदायका व्यक्तित्वहरूको उल्लेखनीय सहभागितासहित लोकार्पण समारोह उत्साहपूर्वक सम्पन्न भयो।
लण्डन नेपाल न्युज अस्ट्रेलियासँग कुरा गर्दै लेखक गुरुङले आफूले भोगेका, देखेका र आफ्नो गाउँ–टोलमा रहेका बुद्धिजीवी तथा सम्बन्धित क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका सहकर्मीहरूको अनुभव तथा संकलित खोजमूलक तथ्याङ्कहरूबाट पुस्तक तयार गरेको बताए। उनले १८औँ शताब्दीदेखि गुरुङ समुदायले प्रशासनिक क्षेत्रमा काम गर्नुपर्छ भन्ने प्रेरणा अझै मजबुत रूपमा जगाउन नसकिएको कारण समुदाय पछाडि परेको विश्लेषण पुस्तकमा समेटिएको बताए। साथै उनले समसामयिक विषय, अन्य जातजाति तथा नेपालको जियो–पोलिटिक्ससँग सम्बन्धित रहेर अर्को पुस्तकमा पनि काम भइरहेको र निकट भ भविष्यमा अर्को पुस्तक आउने जानकारी दिए।






