लण्डन । मिस नेपाल २०१८ श्रृंखला खतिवडा मंगलबार सांझ लन्डन आइपुगेकी छन् । खतिवडा अल्डरसटस्थित प्यालेसमा २१ सेप्टेम्बर सांझ च्यारिटी डिनरमा सहभागी हुन लण्डन आइपुगेकी हुन् । उनको मकवानपुरमा हेल्थ पोस्ट बनाउने अभियानमा पहिलो पटक यूके भ्रमण हो ।
यहि शुक्रबार सांझ अल्डरसटमा आयोजना हुने ‘च्यारिटी डिनर विथ मिस नेपाल’ मा भाग लिन आमा मनु सिग्देलको साथमा श्रृंखला बेलायत आएकी हुन् । बेलायतस्थित ह्याब अ मोमेन्ट र सिग्नेचर समुहले संयुक्त रुपमा मिस नेपाल श्रृंखलाको च्यारिटीमुलक कार्यलाई सघाउन यो च्यारिटी सांझको आयोजना गर्न लागेका हुन् ।
लण्डनको हिथ्रो विमानस्थलमा उत्रिंदा मिस नेपाल श्रृंखलालाई कार्यक्रमका आयोजकले बेलायतमा स्वागत गरेका थिए । आयोजक समूहका नबिन गुरुङ, दिपेश राई , मिस यूके नेपाल सिर्जना गुरुङसहित पत्रकार शिब भण्डारी, शंकर श्रेष्ठ, एनआरएन यूके युवा संयोजक एलबिजेड गुरुङ ,समाजशेबी एबम गोर्खाली समाज युकेका उपाध्यक्ष हेम गुरुङ,बिनोद थापा , प्रकाश कंडेल , देव गुरुङ , राजन गुरुङ , सुबास गुरुङ , भुपेन्द्र गुरुङ लगायतका एक दर्जन युवाहरु मिस नेपाललाई स्वागत गर्न विमानस्थल पुगेका थिए । बेलायत उत्रिएलगत्तै मिस नेपाल श्रृंखलाले च्यारिटी कार्यक्रमका बेलायत आउन पाएकोमा खुशी व्यक्त गर्दै सोच्दै नसोचेको अवसर पाएको बताइन।
शुक्रबार साँझ हुने च्यारिटी कार्यक्रममा सहभागी भइदिन उनले बेलायतवासी नेपालीहरुलाई आग्रह पनि गरिन । आउंदो डिसेम्बरमा हुने मिस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने श्रृंखलाले आफ्नो ‘ब्युटी विथ अ पर्पोज’ सेगमेन्टअन्तर्गत मकवानपुरको चेपाङ बस्तीमा एक हेल्थ पोस्ट निर्माण गर्दैछिन् । बेलायतमा आयोजना हुने यो कार्यक्रमबाट संकलन हुने रकम सोहि हेल्थ पोस्टको निर्माण कार्यमा खर्च गरिनेछ ।
बेलायत आउनुअघि नै मिस नेपाल श्रृंखलाले बेलायतबासी नेपालीहरुलाई च्यारिटी सांझको निम्तो दिइसकेकी छन् । ‘मकवानपुरको एक विकट चेपाङ गाउं । जहांका मानिसहरुले सामान्य ज्वरो, झाडापखालाको औषधि लिन पनि ५ घण्टाको बाटो धाउनुपर्ने बाध्यता छ । उनीहरुको अवस्था देखिसकेपछि मैले एउटा हेल्थ पोस्ट बनाउने निर्णय लिएर फर्किएं’, भिडियो अपीलमार्फत श्रृंखलाले भनेकी छन्, ‘यहि हेल्थ पोस्ट बनाउने कार्यको लागि हजुरहरुको सहयोगको खांचो छ । हेल्थ पोस्टको सहयोगमा एक च्यारिटी डिनरका लागि म यूके आउंदैछु । तपाईहरुबाट साथ, सहयोगको अपेक्षा गरेको छु ।’ ४ दिनको लागि बेलायत आएकी मिस नेपाल श्रृंखला कार्यक्रम लगत्तै नेपाल फर्किदैछिन ।लण्डन नेपाल न्यूज़ डट कमका लागि शिब भण्डारी र प्रकाश कंडेलले हिथ्रो विमानस्थलमै तयार पारेको लाइभ भिडियो रिपोर्ट :







