बेलायतमा यति कप २७ सेप्टेम्बरमा हुदै,जित्ने लाई ३३ सय पाउण्ड दर्शकलाई निशुल्क

लन्डन । युरोपकै पहिलो नेपाली सामाजिक संस्था यती नेपाली एसोसिएसन यूकेले‘यती कप फुटबल प्रतियोगिता’ गर्ने भएको छ ।आगामी २७ सेप्टेम्बर शनिबार फेल्थाममा ‘यती कप फुटबल प्रतियोगिता’ गर्ने भएको हो ।बुधबार साउथ ह्यारोस्थित नेवा छेः मा आयोजित एक पत्रकार सम्मेलन मार्फत यतीले प्रतियोगिताबारे जानकारी दिएको हो ।

महासचिव आशिषराज पन्तले संचालन गरेको पत्रकार सम्मेलनमा यती अध्यक्ष टंक भट्टराईले ‘यती कप फुटबल प्रतियोगिता’ गर्न लागेको बताए। यती कपमा फुटबल बाहेक नेपाली खाना र सांस्कृतिक स्टल, लाइभ म्यूजिक आदि पनि मुख्य आकर्षण रहने तथा दर्शकलाई प्रवेश निशुल्क गरी टुर्नामेन्टलाई मेलाका रुपमा लैजाने साथै विजेतालाइ बेलायतमा नेपाली समुदायको सबैभन्दा ठूलो पुरस्कार ३३३३ पाउण्ड दिने पनि अध्यक्ष भट्टराईले बताए ।

स्पोर्टस सेक्रेटरी हरि रेग्मीले यती कपमा ९ ए साइड र कुल खेलाडी १५ जना (तीनजना विदेशी मान्य) सामेल हुने एवं मेनतर्फ २४ र भेट्रान १२ टिमलाई खेलाउने योजना रहेको जनाए । उनका अनुसार अहिलेसम्म मेन २० टिम र भेट्रान १० टिम दर्ता भइसकेका छन् ।

प्रतियोगितामा मेन क्याटगोरिज विजेताले ३३३३ पाउण्ड, रनर अपले १५५५ पाउण्ड, भेट्रान्सतर्फ वीनर टिमले १२२२ पाउण्ड, रनरअपले ५५५ पाउण्ड प्राप्त गर्नेछन् ।वेष्ट प्लेयर, हाइजेष्ट गोल स्कोरर, वेष्ट गोलकिपर, वेष्ट टिम म्यानेजर, मोष्ट डिस्सीप्लिन्ड टिमलाई पनि ट्रफी प्रदान गरिने आयोजकको भनाइ छ।

महासचिव आशिषराज पन्तले टंक भट्टराई नेतृत्वको ३१ औं कार्यसमितिले यती कपलाई अपग्रेडसहित अगाडि बढाउन लागेको जनाए । उनले भविष्यमा यतीले ट्रेड शो गर्ने योजना बनाएको समेत बताए ।

पूर्व अध्यक्ष उमेशराज मोक्तानले इतिहास फर्केर हेर्दा अफिसियल यती कप फुटबल शुरु यतीले नै गरेको बताउंदै विगतमा यो निकै लोकप्रिय रहेको स्मरण गरे । मोक्तानले यतीको पुरानो ‘लिगेसी’ कायम राख्दै नयां टिमले ऐतिहासिक खेल प्रतियोगिता गर्ने विश्वास व्यक्त गरे ।

यती उपाध्यक्ष राज पाण्डेले गत वर्ष प्राविधिक कारणले गर्न नसकिएपनि सन् २०१७ वर्षपछि अहिले यती कप हुन लागेको बताए । यूकेमा सबैभन्दा उच्च राशीको पुरस्कार नै यती कपको भएको पाण्डेले जानकारी दिए ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष वसन्त रायक्षेत्री, सामाजिक सचिव क्षमता ढकाल, उपमहासचिव सुष्मा पौडेल, सदस्यहरु जेनिस गिरी, अविश्रान्त दाहाल, अभिसेक बस्नेत र भुपेन्द्र विष्ट पनि सहभागी थिए ।

बेलायतमा यती नेपाली एसोसिएसन यूकेले विभिन्न सांस्कृतिक, सामाजिक र सामुदायिक कार्यक्रम,खेल प्रतियोगिता गर्दै आएको छ।