लन्डन। बेलायतमा म्याग्दी प्रवासी संघ (मोना यूके) को प्रस्तुतिमा सातौं संस्करणको मोना यूके भलिबल टुर्नामेन्ट जुन २१ तारिख शनिबारका दिन आयोजना हुने भएको छ।
म्याग्दी समाज यूके र म्याग्दी भलिबल क्लब यूकेको संयुक्त आयोजनामा हुन लागेको यो प्रतियोगिता लन्डनस्थित रस्मूर सेन्ट्स एफसी मैदानमा सम्पन्न हुनेछ। प्रतियोगिता बिहान ८:३० बजेबाट औपचारिक रूपमा सुरु हुने आयोजकले जनाएका छन्।
मोना यूकेका अध्यक्ष पदम सुन्दर गर्बुजाका अनुसार प्रतियोगितामा पुरुष, महिला, भेट्रान्स र छेलो विधाका टिमहरूले प्रतिस्पर्धा गर्नेछन्। खेलाडीहरूको उत्साहवर्धनका लागि विभिन्न आकर्षक पुरस्कारहरूको व्यवस्था गरिएको छ।
प्रतियोगितामा पुरुष विधातर्फ प्रथम हुने टिमले २ हजार पाउन्ड र दोस्रो हुने टिमले १ हजार ३ सय पाउन्ड प्राप्त गर्नेछ। महिलातर्फ विजेता टिमले १ हजार २ सय पाउन्ड र उपविजेता टिमले ८ सय पाउन्ड हात पार्नेछ। त्यस्तै, भेट्रान्सतर्फ पहिलो स्थान हासिल गर्ने टिमलाई १ हजार १ सय पाउन्ड तथा दोस्रो हुने टिमलाई ७ सय पाउन्ड प्रदान गरिनेछ। छेलो विधामा भने विजेता टिमलाई १ सय ५० पाउन्डको नगद पुरस्कार दिइनेछ।
त्यस्तै, प्रतियोगिता अवधिमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई ‘बेस्ट प्लेयर’, ‘बेस्ट लिबेरो’, ‘बेस्ट क्लकर’, ‘बेस्ट सेटर’ र ‘बेस्ट हिटर’ शीर्षकमा विशेष पुरस्कार प्रदान गरिनेछ।
टुर्नामेन्टमा सहभागी हुन चाहने टिमका लागि दर्ता खुलिसकेको छ। पुरुष टिमको दर्ता शुल्क २ सय पाउन्ड, महिला तथा भेट्रान्स टिमको १ सय ५० पाउन्ड र छेलो टिमको लागि १० पाउन्ड तोकिएको छ।
अध्यक्ष गर्बुजाले बेलायतमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई सहभागिताको निम्तो दिँदै खेलकुद मार्फत आपसी मित्रता, एकता र समृद्ध समुदाय निर्माणमा टुर्नामेन्टले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
साथै मनोरञ्जनका लागि विभिन्न कार्यक्रमहरु समेत प्रस्तुत गरिने आयोजकले बताएका छन् । बेलायतमा रहेका खेलाडीहरुको हौसला र प्रबर्द्धनका लागि आयोजना गरिन लागेको मोना खेल मैदानमा उपस्थित भएर खेलाडीको हौसला बढाइदिन मोना यूकेले बेलायतबासी नेपालीहरुमा आग्रह गरेको छ ।






