लन्डन ।यती नेपाली एसोसिएसन यूकेको अध्यक्ष पदमा टंक भट्टराई निर्वाचित भएका छन्।
लन्डन साउथ ह्यारोस्थित ह्यारो बरो फुटबल क्लवमा मे ४ आइतबार सम्पन्न संस्थाको ३१ औं अधिवेशनले टंक भट्टराईको अध्यक्षतामा नयां कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
यसअघि महासचिव रहेका भट्टराईले लामो इतिहास बोकेको यती संस्थालाई समय अनुसार अघि बढाउन युवा उम्मेदवारका रुपमा आफूलाई अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।
नयां कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा वसन्त राय क्षेत्री, उपाध्यक्ष राज पाण्डे, महासचिव आशिषराज पन्त, उपमहासचिव सुष्मा पौडेल, कोषाध्यक्ष मणीकला राई गुरुङ, खेलकुद सचिव हरि रेग्मी, सामाजिक सचिव क्षमता ढकाल, सांस्कृतिक सचिव गोपाल बस्नेत र प्रकाशन सचिवमा आशिष महर्जन सर्वसम्मत चयन भएका छन् ।
नयाँ कार्यसमितिको सदस्यहरुमा जेनिस गिरी, रश्मी सिंह राणा, प्रशान्त खड्का, लक्ष्मण पाण्डे, सुरेश कुमार राई, टंकबहादुर गुरुङ र रुक्मिणी थापा निर्विरोध निर्वाचित भएका छन् ।
नयां कार्यसमिति चयनका लागि निर्वाचन समिति संयोजकमा यती पूर्व अध्यक्ष उमेशराज मोक्तान र सदस्यहरुमा शशीधर नेपाल, राजन खकुराल र शंकरप्रसाद दाहाल थिए ।
कार्यक्रममा गायिका साहिमा श्रेष्ठले गायन प्रस्तुत गरेकी थिइन् ।
को हुन् भट्टराई ?
भट्टराई यसअघि महासचिव थिए । बेलायत तथा नेपालमा एक युवा व्यवसायी तथा सामाजिक अभियन्ताको परिचय बनाइरहेका भट्टराई बेलायतमा सयौँलाई रोजगारी दिने केयर व्यवसायी हुन् ।
अध्यक्ष निर्वाचित भएपछि भट्टराईले लामो इतिहास बोकेको यस संस्थालाई समयअनुसार अघि बढाउन आफूलाई प्रस्तुत गर्ने अठोट व्यक्त गरेका छन् ।
उनले लामो समयदेखि प्रमुख चासोका रुपमा हेरिएको यती घर निर्माण आफ्नो प्रमुख प्राथमिकता रहेको बताए । क्षेत्रीय प्रतिनिधिहरु राखेर संस्थालाई अझ व्यापक बनाइने पनि उनले बताए । भट्टराईले सबैभन्दा पुरानो संस्थाको नेतृत्व युवा पुस्तालाई सुम्पिएकामा अग्रजहरु र अन्य सबै सहयोगीप्रति आभार समेत व्यक्त गरे ।
भट्टराई कोडेक यूकेका पूर्व सचिव तथा अध्यक्ष समेत हुन्।






