लन्डन । बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले बेलायती राजा चार्ल्स तृतीयसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।
बेलायतका लागि २३ औं नेपाली राजदूत घिमिरेले बिहीबार बकिङ्घम दरबारमा एक औपचारिक कार्यक्रमबीच ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्।

समारोहमा राजदूत घिमिरेले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री के.पी. शर्मा ओलीको शुभकामना सन्देश पनि सुनाए ।
राजदूत घिमिरेले राजाको व्यक्तिगत कल्याण र बेलायती जनताको दिगो समृद्धिका लागि राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीको शुभकामना समेत दिए।
सो अवसरमा राजा चार्ल्सले राजदूत घिमिरेलाई उनको नियुक्ति प्रति बधाई दिंदै नेपालसँगको द्विपक्षीय सम्बन्ध सुदृढ पार्न प्रतिबद्धता व्यक्त गरे।
सन् १८१६ मा स्थापित दुई राष्ट्रको २०९ वर्षे कूटनीतिक सम्बन्ध स्मरण गर्दै राजाले नेपालको विकास प्राथमिकता र यसको प्रगतिको लागि समर्थन समेत जनाए।
उनले नेपालसँगको आफ्नो व्यक्तिगत सम्बन्ध र नेपाल भ्रमणका कयौं क्षण पनि सम्झिएका थिए।
राजदूत घिमिरेले नेपाल र बेलायतबीचको दुई शताब्दीभन्दा लामो अटल मित्रतामा जोड दिंदै नेपालको सामाजिक-आर्थिक विकास पहलहरूमा बेलायतको निरन्तर सहयोगका लागि कृतज्ञता व्यक्त गरे। उनले पारस्परिक हितका क्षेत्रमा सहकार्य थप बढाउने नेपालको प्रतिबद्धता पनि दोहोर्याए।
समारोहमा राजदूत पत्नि सरिता न्यौपाने घिमिरे र दूतावासका कर्मचारी पनि सहभागी थिए।






