दिनेश परियार ,
लन्डन -नेपाली इतिहासका महान् राष्ट्रनायक भीमसेन थापाको जीवन र योगदानलाई रंगमञ्चमार्फत उजागर गर्ने प्रयास लन्डनमा देखिएको छ। युगकवि सिद्धिचरण श्रेष्ठको खण्डकाव्य ‘भीमसेन थापा’मा आधारित ऐतिहासिक नाटक आइतबार बेलायतको ह्यारोस्थित क्लब परिसरमा भव्य रूपमा मञ्चन गरिएको हो।
नाटकको निर्देशन तथा परिकल्पना निर्देशक सनम कुमार बैरागले गरेका छन्। बैरागले स्वयं नाटकमा भीमसेन थापाको भूमिका निर्वाह गरेका छन्। नेपाली समुदायका लागि ऐतिहासिक चेतना र गर्वको अवसर बन्दै, बेलायतमा रहेका नेपाली दर्शकहरूले पहिलोपटक यस नाटकलाई प्रत्यक्ष अवलोकन गर्ने सौभाग्य प्राप्त गरेका हुन्।
कार्यक्रमको सफलतापछि नाटक टोलीले बेलायतका अन्य सहरहरू—रिडिङ, विलविच, अल्डरसट र स्कटल्यान्ड—मा पनि प्रस्तुति दिने तयारी गरिरहेको छ।
नेपालमा भने आगामी २०८२ सालको दसैँ–तिहारपछिको समयमा काठमाडौँको मण्डला थिएटरमा औपचारिक मञ्चन हुनेछ। निर्देशक बैरागका अनुसार त्यसपछिका चरणमा पोखरा, चितवन, बिर्तामोड, धरानलगायत ठूला शहरहरूमा समेत नाटकको प्रदर्शन गर्ने योजना छ।
इतिहास
नाटकले भीमसेन थापाको साहस, दूरदर्शिता र राष्ट्रभक्ति झल्काउँछ। बेलायती साम्राज्यवादको दबाबका बीच नेपाललाई स्वतन्त्र राख्न गरेको उनको संघर्ष, सैनिक र प्रशासनिक सुधारहरू, र अन्ततः राजनीतिक षड्यन्त्रले उनको जीवनमा ल्याएको दुःखान्त अन्त्यलाई नाटकले गहिरो भावनात्मक प्रभावसहित प्रस्तुत गरेको छ। 








