हङकङ । गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको सातौं अधिवेशनले राधिका (टीका) गुरुङलाई दोस्रो कार्यकालका लागि अध्यक्ष चयन गरेको छ ।
आइतबार इण्डीया क्लबमा सम्पन्न चुनावमा टीकाले प्रतिद्वन्दी निरन्जन गुरुङलाई अध्यक्षमा फराकिलो मतले पराजित गरेकी हुन् । कुल ९५५ मतदातामध्ये ४३८ ले मतदान गरेकामा टीकाले २७५ मत र निरन्जनले १६२ मत प्राप्त गरेका थिए । टीका ११३ मतको अन्तरले विजयी भएकी हुन्।
अध्यक्षबाहेक अन्य सबै पदाधिकारी निर्बिरोध चयन भएका छन् । जसअनुसार उपाध्यक्षमा किसन राई र कर्म गुरुङ, महासचिवमा गोकर्णप्रसाद ढकाल, सचिवमा डिल्लिराम विश्वकर्मा तथा कोषाध्यक्षमा सन्तोष कुमार गुरुङ छन्। महिला संयोजक अनु राई, युवा संयोजक प्रेम लामा तथा सदस्यहरुमा विजय कुमार गुरुङ, अर्जुन गौचन र अरविन सिंह निर्विरोध चयन भएका हुन् ।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष कुमार पन्त हङकङ अधिवेशनमा प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए।







