लन्डन । यती नेपाली एसोसिएसन यूकेको अधिवेशन मे ४ तारिख आइतबार हुने भएको छ ।
लन्डन साउथ ह्यारो फुटबल क्लवमा संस्थाको ३१ औं अधिवेशन हुने भएको हो ।यसै बीच यती नेपाली एसोसिएसनका महासचिव समेत रहेका टंक भट्टराईले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
युरोपकै सबैभन्दा पुरानो सामाजिक संस्थामा भट्टराईले युवा उम्मेदवारको रूपमा आफूलाई प्रस्तुत गरेर चुनाबी मैदानमा उत्रेको लण्डन नेपाल न्युज लाई बताए।नेपालको झापा जन्मेका भट्टराई बेलायत तथा नेपालमा एक युवा व्यवसायी तथा सामाजिक अभियन्ताको परिचय बनाइरहेका उनि बेलायतमा सयौँलाई रोजगारी दिने केयर व्यवसायीको रूपमा चिनिन्छन्।नेपालमा सूचना प्रविधिमा समेत लगानी गरिरहेका भट्टराई कोडेक यूकेका पूर्व सचिव तथा अध्यक्ष समेत रहेका छन्।
उनले भने आफुले उम्मेदवारी दिने सोच नभए पनि विगत दुई वर्षको सक्रियता र संस्थालाई अघि बढाउन खेलेको नेतृत्वदायी भूमिकाका कारण धेरै अग्रज तथा साथीभाइहरूले जोड दिएपछि उम्मेदवार बन्न लागेको बताए।

लामो समयसम्म झन्डै निष्क्रिय अवस्थामा रहेको संस्थालाई पुनः सक्रिय बनाउन सफल यस कार्यसमितिका महासचिव टंक भट्टराईले महत्वपूर्ण योगदान पुर्याएका छन्।तर अझै धेरै काम गर्न बाँकी रहेको भन्दै निर्धारित रोडम्याप अनुसार कार्य निरन्तरता दिनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय लिएको बताए।
लामो समयदेखि प्रमुख मुद्दाको रूपमा रहेको यती घर निर्माणको कुरा अहिले संस्थाको प्रमुख प्राथमिकता रहेको पनि उनले बताए।
संस्थामा धेरै विषयहरू समेट्नुपर्ने आवश्यकता रहेकाले विस्तारै सबैलाई समेट्दै अघि बढ्ने योजना रहेको उल्लेख गर्दै, अब आउने साधारण सभाले दिने निर्देशनहरू पनि अत्यन्त महत्वपूर्ण हुने स्पष्ट पारेका छन्।
एक्लै उम्मेदवारी दिने कि अन्यसँग मिलेर जाने भन्नेमा उनले खुलाएनन्। यती स्वतन्त्र संस्था भएकाले जो–कोहीलाई उम्मेदवारी दिन स्वागत गरिएको जनाउँदै धेरै साथीहरूले संगै काम गर्न इच्छा देखाएको हुँदा समूहगत रूपमा अघि बढ्ने सम्भावना रहेको पनि बताएका छन्।
यी सबै कार्यहरू एक्लै सम्भव नभएको र सामूहिक रूपमा मात्र सम्पन्न गर्न सकिने योजनासहित अघि बढ्न आफू तयार रहेको जानकारी गराएका छन्।
यतिका अनुभवी अभियन्ता तथा आदरणीय ट्रस्टीहरूको पूर्ण समर्थन र सहयोग रहने विश्वास व्यक्त गर्दै संस्थालाई अघि बढाउन युवा नेतृत्वलाई निरुत्साहित नगरी अझ सशक्त बनाउन सबै अभियन्ता र ट्रस्टीहरूको सकारात्मक भूमिका रहने अपेक्षा व्यक्त गरेका छन्।

संस्थाको निर्वाचन समितिको संयोजकमा यती पूर्व अध्यक्ष उमेशराज मोक्तान र सदस्यहरुमा शशीधर नेपाल र शंकरप्रसाद दाहाललाई जिम्मा दिएको छ।निर्वाचन समितिका संयोजक उमेशराज मोक्तानले सदस्यता नवीकरण वा नयां लिन अन्तिम म्याद मे २ तारिख ७ बजेसम्म, उम्मेदवारी दर्ता मे २ तारिख सांझ ७ बजेदेखि भोलिपल्ट मे ३ तारिख सांझ ७ बजेसम्म निर्धारण गरिएको जनाए ।
त्यस्तै उम्मेदवारी दावी विरोध मे ३ तारिख बेलुका ८ बजेसम्म तथा उम्मेदवारी फिर्ता मे ३ तारिख ९ बजेसम्म गर्न सकिने समितिले जनाएको छ ।उम्मेदवारी दर्ता साउथ ह्यारोको गोल्डेन सीप रेष्टुरेन्टमा प्रत्यक्ष गएर वा यती नेपाली एसोसिएसन यूके को वेवसाइट मार्फत अनलाइन गर्न सकिने पनि निर्वाचन समितिले जनाएको छ ।
उम्मेदवारी शुल्क अध्यक्ष पदको ४०० पाउण्ड, वरिष्ठ उपाध्यक्षको ३०० पाउण्ड, उपाध्यक्ष र महासचिव २५० पाउण्ड, उपमहासचिव र कोषाध्यक्ष १५० पाउण्ड, सचिव १०० पाउन्ड एवं सदस्यको ५० पाउण्ड तोकिएको छ ।






