लन्डनस्थित नेपाली दूतावास सोनाम ल्होछारको दिन बन्द हुने

लन्डन । लन्डन स्थित नेपाली राजदूतावास यहि माघ ३० (१२ फेब्रुअरी) बन्द हुने भएको छ । दूतावासले बुधबार एक सूचना जारी गर्दै उक्त जानकारी गराएको हो । दूतावासले उक्त दिन सोनाम ल्होछार परेकोले सरकारले दिएको विदा अनुरूप बन्द हुने जनाएको हो ।

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी आफ्नो चार वर्षे कार्यकाल सकेर स्वदेश फिर्ता भएसंगै हाल दूतावासका उपनियोग प्रमुख रोशन खनाल प्रमुखको भूमिकामा छन् ।

यसअघि सोमबार बसेको नेपाल सरकार मन्त्रिपरिषद बैठकले सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने गर्दछन् । यसअघि सरकारले कार्यदिन बढाउन भन्दै ल्होछार, माघे संक्रान्ति लगायतका चाड पर्वको बिदा कटौती गरेको थियो ।