सिड्नी । नेपाली मौलिकता र नेपालीपनलाई अष्ट्ररेलियामा प्रवद्र्धन गर्ने उद्धेश्यले प्रत्येक दुई दुई वर्षमा आयोजना हुँदै आएको नेपाल फेस्टिबल यसवर्ष पनि पाँच वटा शहरमा आयोजना हुने भएको छ ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलिया अन्तर्गत रहेका विभिन्न राज्य समितिहरुको आयोजनामा मार्च ९ तारिखमा एडिलेडबाट सुरु हुने नेपाल फेस्टिबल अप्रिल ६ तारिख ब्रिसबेनसम्म पुगेर सकिने एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले जानकारी दिए । फेष्टिभलले नेपाल र नेपाली पर्यटन, नेपालको खाना, गीत संगीत र संस्कृतिको प्रवद्र्धन गर्ने उनको भनाई छ । नेपालको विभिन्न विभिन्न धार्मिक तथा ऐतिहासिक सम्पदाहरुको प्रदर्शन सहित परेड, मौलिक खानाका परिकारहरु, अन्य सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रमहरु फेस्टिबलका अवसरमा प्रस्तुत गरिन्छ । नेपाल फेस्टिबललाई अस्ट्रेलियामा रहेका नेपालीहरुले नेपाली उत्सवको रुपमा मनाउने गर्दछन् ।
नेपाल फेस्टिबल एडिलेडको एल्डर पार्कमा, मेलबर्नको फेडरेसन स्क्वायर, क्यानबेराको स्टेज ८८ कमनवेल्थ पार्क, होबार्टको पार्लियामेन्ट हाउस लन, सालामाङ्का र ब्रिसबेनको किङ जर्ज स्क्वायरमा हुनेछ । नेपाली झण्डा, नेपाली पहिरन र नेपाली मौलिकताले सुसुज्जित फेस्बिटलले उक्त सहरहरु नेपालमय हुनेछन् । नेपाल फेस्टिबललाई नेपाली संघसंस्था दूतावास र अस्ट्रेलियाका राज्य सरकारहरुले पनि सहयोग गर्ने जनाईएको छ । ५ वटै शहरमा गायक विवेक श्रेष्ठ र उनको कन्दरा ब्याण्डले प्रस्तुती दिनेछ । अन्य स्थानीय कलाकारहरुको हकमा सम्बन्धित राज्य समितिले निर्णय गर्ने एनआरएनए अस्ट्रेलियाका प्रवक्ता बबिन मिश्रले जानकारी दिए ।







