सिड्नी । नेपालको मौलिकता, विविधता र नेपालीपनलाई अस्ट्रेलियामा प्रवद्र्धन गर्ने उद्धेश्य सहित प्रत्येक २ वर्षमा आयोजना हुँदै आएको नेपाल फेस्टिबल सिड्नी २०२४ को तयारी अन्तिम चरणमा पुगेको छ । नोभेम्बर २३ तारिख शनिवार हुने महोत्सवको जानकारी दिने उद्धेश्य सहित आईतबार आयोजित अन्तर्क्रिया तथा जूम मिटिङ कार्यक्रममा आयोजक गैर आवासीय नेपाली संघ एनआरएनएले सम्पर्ण तयारी पुरा भएको जनाएको हो । 
नेपाल फेस्टिबल सिड्नी २०२४ को तयारीबारेको एनआरएनए अध्यक्ष अनिल पोखरेलले यसवर्षको सिड्नी २०२४ को तयारी क्रममा भएका प्रगतिहरुको बारेमा जानकारी दिदै कुुल २ लाख ५० हजार बजेट मध्ये ८० प्रतिशत उठिसकेको र बहुसांस्कृतिक विभागबाट ५० हजार डलर अनुदान आएको भन्दै नेपाल फेस्टिबल सम्पन्न गर्न गठित विभिन्न उपसमितिहरुले आफ्नो काम धमाधम गरिरहेको वताए । कार्यक्रममा एनआरएनए न्यू साउथ वेल्स राज्य समिति संयोजक विनोद कुँवर सहित नेपाल फेस्टिबल २०२४ का कार्यक्रमहरु मध्ये परेड संयोजक हिउपति गुरुङ, नेपाल हाउसका संयोजक दिपा जोशी, सांस्कृतिक कार्यक्रम संयोकन सवला बस्नेत लगायतले आफ्नो क्षेत्रमा भएका कार्य प्रगतीहरुको जानकारी गराएका थिए भने कार्यक्रमबारे जानकारी गराउँदै पत्रकारहरुले राखेका जिज्ञासाहरुको उत्तर समेत दिएका थिए । ६ वर्षपछि नेपाल फेस्टिबलको उद्गम स्थल डार्लिङ हार्वर स्थित तुम्बालोङ्ग पार्कमा महोत्सव हुँदैछ ।
फेस्टिबलमा नेपाली झाँकी र बाजागाजासहित सांस्कृतिक परेड सहित ’द एक्स’ ब्याण्डका साथै हेमन्त शर्मा, पशुपति शर्मा, आस्था राउत लगायतका कलाकारहरुको प्रस्तुती रहने जनाईएको छ । मिडिया संयोजक हेमन्त काफ्लेले मिडियामा भएका गतिबिधि बारे जानकारी गराएका थिए भने अन्तर्क्रिया कार्यक्रममामा एन्जाका अध्यक्ष, महासचिव लगायतका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । 






