अस्ट्रेलियाको संघीय निर्वाचनमा नेपाली उम्मेदवार

तक्दीर अधिकारी ,

सिड्नी । आउँदो १८ मेमा हुने अस्ट्रेलियाको संघीय निर्वाचनमा नेपाली समुदायका प्रमेज श्रेष्ठ सत्तारुढ लिबरल पार्टीको तर्फबाट उम्मेदवार बन्ने भएका छन् । उनी बार्टन क्षेत्रबाट उम्मेदवार बन्ने भएका हुन् ।

नेपाली समाजलगायत युवा समुदायमा लोकप्रिय प्रमेज बाल्यकालदेखि नै समाजसेवामा रुचि राख्ने गरेको उनका बुवा मेघराज श्रेष्ठले बताए ।

‘प्रमेजले २६ वर्षको उमेरमा यो प्लेटफर्म पाउनु ठूलो कुरा हो’, उनले भने, ‘प्रमेजको लोकप्रियतालाई सत्तारुढ लिविरल पार्टीले उपयोग गरेर नेपाली समुदायलाई अस्टे«लियाको राजनीतिमा स्थान दिएको छ । यसअघिको संघीय निर्वाचनमा उक्त क्षेत्र प्रतिपक्षीले जितेको थियो ।’ तर यसपटक प्रमेज आफूले जित्ने कुरामा ढुक्क रहेको बताउँछन् ।


बार्टन क्षेत्रमा रक्डेल, म्यारिकभिल, क्यनटाबरी र हर्षर्टभिललगायत पर्छन् । जहाँ नेपाली समुदायको बाक्लो बस्ती छ । बार्टन क्षेत्रका मतदातालाई प्रत्यक्ष र सामाजिक सञ्जालमार्फत् सम्पर्क गरेर आफूलाई मतदान गर्न अनुरोध गरेको प्रमेजले लन्डन नेपाल न्युज डटकमसँगको कुराकानीमा बताए ।

प्रमेजले मतदातासँग मत माग्दा आफ्नो परिचयका साथमा नेपाल र नेपालीको परिचय दिने गरेका छन् । बार्टन क्षेत्रका बासिन्दा र विद्यार्थीको समस्यालाई एजेन्डा बनाएर लबिङ गर्ने प्रमेज बताउँछन् ।

सन् १९९९ मा सात बर्षको उमेरमा अष्ट्रेलिया आइपुगेका प्रमेज १९ बर्षपछि यहाँको राजनीतिमा संलग्न हुने पहिलो नेपाली हुन् ।

अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटीबाट अध्ययन पूरा गरेका प्रमेज केही बर्ष अघिदेखि लिबरल पार्टीको राजनीतिमा सक्रिय थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *