साउन १५ भित्र संविधान

काठमाडौँ, २१ असार । आगामी साउन १५ भित्र संविधान जारी गर्ने सम्बन्धमा गर्नुपर्ने तयारीमा बारेमा आज प्रधानमन्त्री तथा नेपाली काँगे्रसका सभापति सुशील कोइरालासहित प्रमुख चार दलका नेताबीच छलफल भएको छ । संविधानसभा भवन नयाँ बानेश्वरमा सभाध्यक्ष सुवासचन्द्र नेम्वाङको पहलमा भएको छलफलमा सभाका बैठकमा हाल ‘नेपालको संविधान, २०७२’ को प्रारम्भिक मस्यौदालाई ‘जनताको प्रतिक्रियाका लागि नेपाल राजपत्रमा प्रकाशन गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफल दुई दिनभित्र सम्पन्न गरेर जनतामा रायका लागि जाने विषयमा छलफल भएको थियो ।
बैठकमा सहभागी नेकपा (एमाले) का प्रमुख सचेतक अग्निप्रसाद खरेलले साउन १५ लाई समयसीमा मानेर जनताको रायसहित एकीकृत र अन्तिम मस्यौदा बनाउने बारेमा छलफल भएको जानकारी दिनुभयो । छलफलमा एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) नेपालका अध्यक्ष विजयकुमार गच्छदारलगायतको सहभागिता थियो । सभाध्यक्ष नेम्वाङले शनिबार जनताको राय लिने विधि, समय र संविधान जारी गराउन साउन १५ सम्मको समयसीमा राखी गृहकार्यका लागि नेताहरूलाई आग्रह गर्नुभएको थियो ।