लण्डन रोयल बरोको मेयरमा जीत रानाभाट निर्वाचित

लन्डन ।  लन्डनस्थित रोयल बरो अफ ग्रीनवीचमा नेपाली मूलका जीत रानाभाट मेयर निर्वाचित भएका छन् ।

वुल्लीचस्थित ग्रीनवीच टाउन हलमा आयोजित समारोहमा उपस्थित विशिष्ट अतिथिहरुमाझ रानाभाटले एक वर्षे कार्यकालका लागि मेयरको शपथ लिए ।

बरोका निवर्तमान मेयर काउन्सिलर डा डोमिनिक एमब्याङले मेयरले पहिरिने अफिसियल चेन हस्तान्तरण गर्दै रानाभाटलाई औपचारिक कार्यभार सुम्पिए ।

त्यसअघि रानाभाटले एक्सेप्टेन्स डिक्लरेसनमा हस्ताक्षर गर्दै मेयरको जिम्मेवारी औपचारिक रुपमा स्वीकारेका थिए ।

शपथग्रहणपछि मन्तव्य दिंदै रानाभाटले समुदायको सेवामा झन् कटिवद्ध रहेर लाग्ने प्रण गरे । आफूलाई विश्वास गरेर मेयरको जिम्मेवारी दिने काउन्सिलरहरुप्रति पनि उनले आभार व्यक्त गरे । उनले बेलायत नेपाल र ब्रिटिश गोर्खाको सदियौं लामो सम्बन्धबारे चर्चा गर्दै आफूले गोर्खा गार्डेन प्रोजेक्ट र बाउल क्यान्सर सचेतना प्रोजेक्ट रोजेको जनाए ।

रानाभाटको शपथग्रहण समारोहमा बेलायती राजपरिवारका प्रतिनिधि समेत रहेका ग्रीनवीच बरोका डेपुटी लेफ्टिेन्ट र बरोका उच्चपदस्थ अधिकारीहरुदेखि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र यहाँको नेपाली समुदायका अगुवाहरुलगायतको उपस्थिति थियो ।सोही अवसरमा श्रीमति गौमाया गुरुङलाई मेयरेस घोषणा गरियो ।

 

सन् २०२२ मा पहिलोपटक लेबर पार्टीबाट ग्रीनवीच बरोमा काउन्सिलर निर्वाचित भएका रानाभाटले पछिल्लो एक वर्ष सोही बरोमा उपमेयरको जिम्मेवारी सम्हालेका थिए ।

कास्कीको मादी गाउँपालिकास्थित थुमको डाँडामा जन्मिएका रानाभाट हाइली स्किल्ड भिसामा सन् २००८ मा बेलायत आएका हुन् । श्रीमती र दुई छोरीका साथ लन्डन प्लमस्टिडमा बस्दै आएका उनी प्रपर्टी र बिल्डिङ व्यवसायमा संलग्न छन् ।

डेढ दशकअघि बेलायत आएलगत्तै लेबर पार्टीसंग जोडिएका रानाभाट दुई वर्षअघि पहिलोपटक काउन्सिलर निर्वाचित भएका थिए ।