सिड्नी । अस्ट्रेलियाको सिड्नीमा नेपाली युवा व्यवसायी राजमान थकालीको निधन भएको छ । लामो समयदेखि फोक्सो सम्बन्धी रोगबाट ग्रसित थकालीको सेप्टेम्बर ७ तारिख शनिवार ५० वर्षको अल्पायूमै निधन भएको हो । उनी अस्ट्रेलियाको नेपाली समुदायमा परिचित थिए ।
नेपाली थकाली खानाको परिकारलाई उनले नै पहिलो पटक अस्ट्रेलियामा भित्र्याएको मानिन्छ । उनी सरल, सादगी, सहयोगी, मेहनती र कर्मशील युवा व्यवसायीको रुपमा सबैमाझ लोकप्रिय थिए । उनका अस्ट्रेलियाको सिड्नी सहित विभिन्न स्थानमा व्यवसाय रहेका छन् । मुग्लान रेष्टुरेण्ट र मुग्लान ग्रोसरी पसल सहित उनी हिमाअस कन्सल्टेन्सीका सञ्चालक समेत थिए । उनका श्रीमती र २ जना छोराहरु छन् ।
सन् १९९६ मा उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया आएका राजमान धेरै नेपालीहरू विशेष गरी विद्यार्थी र नयाँ आगन्तुकहरु लाई अष्ट्रेलिया जीवनको प्रारम्भिक चरणमा मद्दत गरेका थिए। विभिन्न सामाजिक संघसंस्थामा समेत कार्यरत रही विभिन्न क्षेत्रका सामाजिक क्रियाकलापहरुमा समेत सक्रिय रुपमा सहभागी थिए भने उनको खेलकुद प्रति पनि लगाव थियो । उनी थकाली सहारा क्लब अष्ट्रेलियाका संस्थापक अध्यक्ष समेत हुन ।






