नेपलिज गल्फर एसोसिएशनको गल्फ लिग २०२४ जारी: चौँथो खेल सम्पन्न

सिड्नी । अष्ट्रेलियाको न्यू साउथ बेल्स राज्यमा रहेको नेपाली गल्फरहरुको संस्था नेपलिज गल्फर एसोसिएशनले आयोजना गरेको दोस्रो सीआईएचआई गल्फ लिग २०२४ सञ्चालन भईरहेको छ । कुल आठ वटा विधाका खेलमा प्रतिष्प्रधा गराई सम्पन्न हुने गल्फ लिग अन्तर्गतको चौँथो खेल सम्पन्न भएको छ । २६ मे २०२४ मा सम्पन्न चौँथो खेलमा विभिन्न देशमा प्रवासीहरु सहित २० जनाले भाग लिएका थिए । धमिलो कोर्स, चिसो र हुसुबीच बिहान ९ बजेबाट सुरु भएको खेलमा ४० अंक सहित विशाल श्रेष्ठ प्रथम भए भने ३६ अंक सहित सुदिप बास्तोला दोश्रो भए ।

ईस्टबेल फोडको आधारमा खेलाईएको उक्त खेलमा नियरेष्ट अफ द पिन मिलन श्रेष्ठले जिते भने लंगेष्ट ड्राईभको उपाधि केन्द्र जीले हात पारे । जोर्जेज रिभर गल्फ क्लवमा भएको खेलमा विजेतालाई अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यका निवर्तमान महावाणिज्यदूत दिपक खड्काले पुरस्कार वितरण गरेका थिए । पुरस्कार वितरण कार्यक्रममा बोल्दै खड्काले विदेशमा रहेर पनि नेपालीहरुबीच गल्फ खेल्न पाउँदा खुसी लागेको र दिन प्रतिदिन नयाँ नयाँ देश विदेशमा साथीहरु गल्फमा रुची राखी प्रतियोगीतामा भाग लिएकोमा सबै खेलाडी तथा आयोजकलाई धन्यवाद व्यक्त गरे ।