सिड्नीमा तेमाल जात्रा मनाइँदै

सिड्नी ।  अस्ट्रेलियाको सिड्नीमा रहेका तामाङ समुदायहरुले तेमाल जात्रा मनाउने भएका छन् ।तेमाल जात्रा  विगत लामो समयदेखि तामाङ जातिले मनाउँदै आएको चाडपर्व मध्ये एक हो । पौराणिक कालदेखि मनाउँदै आएको भनिएको यो जात्रा विशेषतः काठमाडौं बौद्ध र स्वयम्भूमा लाग्छ । विगत २ वर्षदेखि सिड्नीमा पनि यसलाई विशेष महत्वका साथ मनाउँदै आइएको छ।

तेमाल जात्रा महोत्सव समारोहको आयोजनामा २७ अप्रिल तारिखमा गो विथ ल्याम्प पार्कमा जात्रा मनाउन लागिएको सुन्दोर्जे तामाङ ले जानकारी दिए । हरेक वर्ष चैत्र पूर्णिमामा दिवंगत भएका आफन्तहरुका सम्झनामा दिप प्रज्वललन गरी यो पर्व मनाईन्छ । काठमाण्डौको बौद्ध र स्वयूम्भुमा विशेष समारोहकाबीच यो पर्व मनाईन्छ । विगत २ वर्ष देखि अस्ट्रेलियाको सिड्नीमा पनि उक्त जात्रा मनाउँदै आईएको छ । गत वर्ष भन्दा यस वर्ष अझै उत्कृष्ट हुन लागेको बताईएको छ । लामाले पुजापाठ संगै सो कार्यक्रममा फापारी सेलो जुहारी प्रतियोगीता समेत राखिएको छ ।

पुरोहितलाई मृतक नातेदारहरुको मोक्षका लागि पाठपूजा समेत गर्न लगाउँछन् । तिमाल जात्रा तामाङहरूले प्राचीनकालदेखि नै मान्दै आएको विश्वास गरिन्छ । परम्परादेखि नै काभ्रे जिल्लाको तिमाल भेगका तामाङको बाक्लो सहभागिता रहेका कारण यो जात्राको नाम तिमाल जात्रा रहन गएकोे विश्वास छ । बौद्ध किंवदन्तीअनुसार सत्ययुगमा विपश्वी बुद्धले नागार्जुन डाँडामा साधना गरी काठमाडौँ उपत्यकामा बनेको दहमा कमलको बीज रोप्नुभयो । विपश्वी बुद्धले रोप्नुभएका कमलको फूलमै स्वयम्भूको अलौकिक ज्योति उत्पन्न भएको बौद्ध दर्शनशास्त्रीय मत छ । विपश्वी बुद्धले कमलको फूल रोप्नुभएको सम्झनामा त्यसैबेलादेखि जात्रा शुरु भएको बताइन्छ ।