ईमराड हिल नेपलिज कम्युनिटी गठन: अध्यक्षमा प्रकाश पौडेल चयन

सिड्नी । ईमराड हिल नेपालिज कम्युनिटीको अध्यक्षमा प्रकाश पौडेल चयन हुनुभएको छ । १४ तारिख आईतबार सम्पन्न संस्थाको अधिवेशनले पौडेलको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको सदस्यहरुमा शालिकराम खरेल, प्रकाश तिवारी, सुरेश राउत, निर्मल ढुंगाना, नारायण न्यौपाने, राजेश तिमिल्सिना, कुमार श्रेष्ठ र सुजाता उपाध्याय लगायत रहेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अतिथि लिबरल पार्टीका साम्सद पदका पूर्व उम्मेदवार विनोद पौड्यालले नयाँ वर्षको शुभकामना दिँदै नयाँ कार्यसमितिलाई सफलताको शुभकामना व्यक्त गरे । त्यस्तै साउथ वेस्ट नेपलिज कम्युनिटीका अध्यक्ष चतुर्भुज खरेलले आगामी दिनमा दुई संस्थाबीच सहकार्य गरेर अगाडी बढ्ने र नयाँ कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे । नेपाली कल्याण समाजका सचिव बिष्णु अधिकारीले स्थानीय संस्थाहरुको गठनले अन्य संस्थालाई पनि सहयोग पुग्ने बताए । लेपिन्टनमा रहेको अभिभावक कल्याण संस्थाले यस संस्थासंग एकसाथ सहकार्य गरेर काम गर्ने विश्वास व्यक्त गरे ।

अध्यक्षमा निर्वाचित भएपश्चात लण्डन नेपाल न्यूज अस्ट्रेलियासंग कुराकानी गर्दै अध्यक्ष प्रकाश पौडेलले प्रत्येक वर्षमा हुने चाडपर्वहरुमा विशेषत ः नेपाली परिवारहरुलाई सहभागी गराई तीन पुस्ताबीचका रितिरिवाज, परम्परा र संस्कृतीबीच पुस्तान्तरण सहित जगेर्ना गर्ने मुख्य उद्धेश्य सहित संस्था अगाडी बढ्ने बताए ।