सिड्नी । श्रद्धा, भक्ति र एकताको पर्व छठ पर्व अस्ट्रेलियाको सिड्नीमा रहेका नेपालीहरुले पनि धार्मिक परम्पराअनुसार हर्षोल्लासका साथ मनाएका छन् । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान् चाड छठलाई भव्य बनाउन एसोसिएसन अफ नेपाल तराई (एएनटिए) अस्ट्रेलियाले सिड्नीको चिपिङनर्टन स्थित एञ्जल पार्कमा विशेष कार्यक्रमको आयोजना गरेको थियो ।
प्राचिन विधि अनुसार १९ नोभेम्बर आईतबार ५ बजे बेलुका अस्ताउँदो सूर्य र २० तारिख सोमबार ५ बजे बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाईएको छ । अघिपछि उदाउँदो सूर्यको प्रार्थना गरिने भए पनि छठ पर्वमा अस्ताउँदो सूर्यको पनि प्रार्थना गर्ने चलन छ ।
सूर्यलाई अर्घ दिनुका साथै छठी माताको पुजाआजा, प्रसाद वितरण, स्नान लगायतका कार्यहरु गर्दै छठ पर्वको समापन गरिएको थियो । झण्डै एक हजार जनाको उपस्थितिमा छठ पर्व भव्य रुपमा मनाईएको एएनटिए अध्यक्ष रन्जीत शाहले जानकारी दिए । छठ ब्रत लिए ब्रतालुहरुको मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । विशेष गरी चर्म रोगको निवारण र आफ्नो एवम् परिवारका सदस्यको सन्तान प्राप्तीको कामना गर्दै यो ब्रत लिने चलन छ । छठ पर्व षष्ठी तिथिमा मानिने हुनाले यसलाई छठ भनिएको हो । छठ भनेको छैँटो तिथि अर्थात् छ अंक को प्रतिकात्मकस्वरुप यसलाई यस्तो नाम दिईएको हो । 
२००८ बाट सिड्नीमा लगातार नेपाली समुदायका व्यक्तिहरुले छठ पर्व मनाउँदै आएका छन् । यो सगैं अहिले १५ औँ पटक छठ पर्व मनाईएको अध्यक्ष शाहले लण्डन नेपाल न्यूज नेपाल अस्ट्रेलियालाई बताए । उनले आगामी दिनमा अझै भव्य बनाउने कोशिस आफुहरु रहने भन्दै कार्यक्रममा सहभागी भएकोमा सबैलाई धन्यवाद व्यक्त गरे ।
यो पर्व चतुर्थीको दिनदेखि सुरु भए तापनि षष्ठी तिथिमा अस्ताउन लाग्दाखेरीको सूर्यलाई पूजा गरी अर्घ्य दिएपछि त्यो रातभर जाग्राम बसी भोलिपल्ट सप्तमीको सूर्योदयमा सूर्यको पूजा गरी पुनः सूर्यलाई अर्घ्य दिएपछि मात्र यो ब्रतको समापन गरिन्छ । अघि त्रेता युगमा भगवान श्रीरामले सीतालाई अयोध्यामा लिएर आउँदा सरयु नदीमा स्नान गरी यहीँ कार्तिक शुक्ल षष्ठीको दिन अस्ताउँदो सूर्यास्तलाई अर्घ्य दिएर यो ब्रतको सुरुआत भएको मानिन्छ ।
कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, लिब्रल पार्टीका सांसद पदका उम्मेदवार तथा युवा अभियान्ता बिनोद पौड्याल, सिड्नी स्थित रहेका कलाकारहरु, सर्जक तथा गायिका जेनिशा गौतम, विभिन्न समाजका लब्ध प्रतिष्ठ व्यक्तिहरु, सिड्नी स्थित विभिन्न सघंसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।






