एनआरएनए उपाध्यक्षमा समर्थन जुटाउन लण्डन आइपुगे अष्ट्रेलियाका गणेश केसी

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका गणेश केसी लण्डन आइपुगेका छन् ।

चुनावी अभियान, प्रचारप्रसार संगै एनआरएनए पदाधिकारीहरुसंग भेटघाट र आफ्नो पक्षमा समर्थन जुटाउने अभियानसहित विश्व दौडाहमा रहेका उनी शुक्रवार लण्डन आइपुगेका हुन् ।

हङकङबाट चुनावी अभियान यात्रा सुरु गरी बेलायत आइपुगेका उनी यहाँ रहुन्जेल बेलायतमा एनआरएनए प्रतिनिधिहरुसंग भेटघाट तथा छलफल सहित चुनावी प्रचारप्रसारमा खटिने छन् । 

उनले यहाँ एक औपचारिक कार्यक्रम गरि उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्ने बताइएको छ । लण्डन नेपालसँग कुरा गर्दै केसीले साथीभाइबाट सकारात्मक प्रतिक्रिया पाएको बताए । 

बौद्धिक ब्यक्तित्व, सफल व्यवसायी साथै समाजसेवी केसीलाई लण्डनमा गैरआवासीय नेपाली संघ (एनआरएनए) युके अध्यक्ष हितकाजी गुरुङ, सह-कोषाध्यक्ष हेम कुमार गुरुङ, एनआरएनए पूर्व सल्लाहकार विश्वआदर्श पन्डित लगायतले स्वागत गरेका थिए । 

आफ्ना चुनावी एजेण्डा सबैसंग प्रस्तुत गर्ने र मतदानका लागि समेत आह्वान गर्ने उनको कार्यतालिका छ ।

केसी अभियान कै क्रममा उनी अक्टोबर ८ तारिख नेदरल्याण्ड, अक्टोबर ९ तारिख बेल्जियम, अक्टोबर १० तारिख डेनमार्क, अक्टोबर ११ तारिखमा पोर्चुगल र अक्टोबर १२ तारिखमा दुबई जाने कार्यक्रम छ। 

एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष तथा हाल आइसिसीका उपमहासचिव केसी एनआरएनए अभियानमा सन् २००५ देखि निरन्तर सक्रिय छन् । उनी एनआरएनए स्कील तथा भोकेशनल एजुकेसन कमिटीका संयोजक पनि हुन् । 

यही अक्टोबर १७ देखि हुने महाधिवेसनमा विश्वभरबाट करिब ४२ सय मतदाताले सहभागिता जनाउँदैछन् ।