लन्डनको किताव फेस्टिवलमा झल्कियो नेपाली भाषा, संस्कृति

लन्डन ।

नेपाल लगायत प्रवासमा रहेका नेपाली पाठकहरुका बिच पठन संस्कृतिको अभिवृद्धि गर्ने हेतुले नेपाल, भारत लगायत अन्य मुलुकहरुमा पुस्तक महोत्सवका रुपमा सम्पन्न भइसकेको ‘किताब जात्रा’ यस वर्ष बेलायत संस्करण हालै दक्षिण पूर्वी लण्डनको वेलिंगमा सम्पन्न भएकोछ। गत २ सेप्टेम्बर २०२३, शनिबारका दिन बेलायत स्थित साहित्यिक संस्थाहरु नेपाली साहित्य विकास परिषद यूके एवम् साहित्य चौतारी यूकेका साथै नेपालीहरुको स्थानीय सामुदायिक संस्था बेक्स्ली नेपाली समाजको सहयोगमा ह्यारिस एकेडेमीको सभाकक्षमा किताब जात्रा करीव १५० जनाको सहभागीतामा सम्पन्न भएको थियो। कार्यक्रममा साहित्यकार, साहित्यानुरागीका साथै बेक्स्ली नेपाली समाज, डार्टफोर्ड नेपाली समाज, रोयल ग्रिनविच नेपलिज सोसाइटी, नेपलिज चार्टर्ड एकाउटेन्टस् एसोसियसन, नेपलिज नर्स एसोसियसन, सोसाइटी अफ नेपलिज प्रोफेसनल्स् आदि संस्थाका प्रतिनिधिहरु सहभागी रहेका थिए।

समारोहको अध्यक्षता बेक्स्ली नेपाली समाजका अध्यक्ष डा. हरिश ज्ञवालीले गरेका थिए भने प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत महामहीम ज्ञानचन्द्र आचार्य थिए। त्यस्तैगरी विशिष्ट अतिथिहरुमा रोयल बरो अफ ग्रिनवीचका उपमेयर जीत रानाभाट र नेपालबाट आएका मिडियाकर्मी टिकाराम यात्री तथा किताब जात्राका निर्देशक ऋषिराम अधिकारी थिए। सभापतिको आसन ग्रहण गर्दै डा. ज्ञवालीले यस किसिमका कार्यक्रमहरुले नेपाली भाषा साहित्यको प्रवर्द्धनमा विशेष महत्व राख्ने बताए। साथै, उनले आउने पुस्तालाई नेपाली भाषा साहित्यलाई हस्तान्तरण गर्ने काम गम्भीर चुनौतिका रुपमा रहेको तर्फ सबै सजग रहनु पर्ने तर्फ औंल्याउॅदै त्यसमा टेवा पुर्याउने हेतुले बेक्स्ली नेपाली समाजले बिगत चार वर्ष देखि नेपाली बालबालिकाहरुका लागि नेपाली भाषा कक्षाहरु सन्चालन गर्दै आएको जानकारी गराए।

समारोहका प्रमुख अतिथि, विशिष्ट अतिथिहरु एवम् उपस्थित साहित्यकारहरुले अनलाइन माध्पमहरु तथा सामाजिक सन्जालको विकाससंगै पाठकहरुको पुस्तक पढ्ने बानीमा ह्रास आउन थालेको प्रति चिन्ता व्यक्त गरे।

कार्यक्रमको सन्चालन साहित्य चौतारी यूकेका सक्रिय सदस्य कवि दिनेश पौड्यालले गरेका थिए।

समारोहमा प्रमुख अतिथि राजदूत आचार्यले बेलायतमा नेपाली साहित्यको प्रचूर सम्भावना रहेको र नेपाल र बेलायतका स्रष्टाहरु बिच यस्ता कार्यक्रमहरुले सेतुको काम गर्न सक्ने सम्भावना तर्फ औंल्याउॅदै कार्यक्रमको सफलताको कामना गरे। विशिष्ट अतिथि उपमेयर जीत रानाभाटले कार्यक्रमको सफलताको कामना गर्दै नेपाली बालबालिकाहरुका लागि नेपाली भाषाको पठनपाठनका लागि विद्यालयको पाठ्यक्रममै नेपाली भाषालाई समावेश गराउन पहल गर्नु पर्ने बेला भइसकेको कुरामा जोड दिए।
सहभागीहरुलाई स्वागत गर्दै नेपाली साहित्य विकास परिषदका अध्यक्ष कोमल मल्ल श्रेष्ठले किताब जात्रा जस्ता भाषा र साहित्य केन्द्रित अवसरहरुले पाठकहरुमा पुस्तक प्रति अभिरुचि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।

समारोहको उदघाटन सत्र पछि नेपाली भाषा साहित्य, उद्यमशीलता र मिडियाको भूमिका सम्बन्धी तीन अलग अलग सत्रहरु सन्चालन गरिएको थियो। भाषा साहित्य सम्बन्धी सत्रको सहजिकरण मिडियाकर्मी टिकाराम यात्रीले गरेका थिए भने साहित्य चौतारी यूकेका संयोजक कवि एवम् उपन्यासकार वासु शर्मा, नेपाली साहित्य विकास परिषद यूकेका सहअध्यक्षद्वय कवि ध्रुव केसी र डा. सुधा श्रेष्ठ, नेपाली वांगमय प्रतिष्ठान यूकेका कवि, नाटककार एवम् उपन्यासकार गोपी सापकोटा तथा बिबिसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपाली प्यानलिस्टका रुपमा सहभागी थिए। उद्यमशीलता सम्बन्धी सत्रको सहजीकरण ऋषिराम अधिकारीले गरेका थिए भने चार्टर्ड एकाउण्टेन्ट कृष्ण दाहाल र उद्यमी राजेन्द्र कॅडेल प्यानेलिस्टका रुपमा सहभागी थिए। मिडिया सम्बन्धी सत्रको सहजीकरण मिडियाकर्मी एवम् बिबिसी नेपाली सेवाका पूर्व समाचार प्रस्तोता भगीरथ योगीले गरेका थिए भने एकल प्यानलिस्टका रुपमा नेपालबाट आएका मिडियाकर्मी टीकाराम यात्री सहभागी थिए।

समारोह स्थलमा नेपालबाट आयोजकहरुले ल्याएका पुस्तकहरु र केही बेलायतकै स्रस्टाहकुका पुस्तकहरु समेत प्रदर्शन गरी बिक्री वितरण गरिएको थियो।

कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सभाकक्षको बुकिंग, जलपान, साउण्ड सिस्टम र फोटोकर्मीको व्यवस्था जस्ता प्रवन्धकीय जिम्मेवारी निर्वाह गरेकोमा समारोहका वक्ता एवम् सहभागीहरुले बेक्स्ली नेपाली समाजलाई सह्राहना गरे।