सिड्नी । गैर आवासीय नेपाली संघ एनआरएनए अस्ट्रेलियाको नयाँ नेतृत्व चयनका लागि निर्वाचन नजिकिँदै गर्दा विभिन्न पदका आकांक्षीहरुले एकपछि अर्को गरी उम्मेदवारी घोषणा गरिरहेका छन् । प्रवासी नेपालीहरुको सबैभन्दा ठुलो संस्था मध्येको एक एनआरएनए अस्ट्रेलियाको जुलाई २९ तरिखमा निर्वाचन हुँदैछ । यसैबीचमा एनआरएनए अस्ट्रेलिया न्यू साउथ वेल्स राज्य परिषदको युवा संयोजक पदमा अनन्त गुरुङले उम्मेदवारी दिएका छन् ।
एनआरएनएका विभिन्न गतिबिधिमा छोटो समयमै अत्यन्तै क्रियाशिल गुरुङले युवा संयोजकमा उम्मेदवारी घोषणा गरेका हुन् । लण्डन नेपाल न्यूज अस्ट्रेलियासंगको कुराकानीमा उनले पछिल्लो समय एनआरएनएमा देखिएको समस्या समाधान सगैं समग्र युवा पुस्ताको प्रतिनिधित्व हुने गरी आफुले उम्मेदवारी दिएको बताए ।
हाल सिड्नीमा बसोबास गर्दै आएका उनी सन् २०१८ देखि एनआरएनएका गतिबिधिमा संलग्न छन् । “म पहिले देखि सामाजिक क्षेत्रमा काम गरेर धेरै अनुभव संगालेको छु उनले भने यसैकारण एनआरएनएमा पनि काम गर्ने ईच्छा राखेर उम्मेदवारी दिएको हुँ ।” एनआरएनएले गर्ने महत्वपूर्ण कामहरुको प्रचार प्रसार हुन नसक्दा संस्थागत उपलब्धी हासिल हुन नसकेको भन्दै उनले संस्थामा बढ्दो राजनीतिकरणलाई रोक्न पनि आफु जस्ता स्वतन्त्र नयाँ युवा पुस्ताको खाँचो रहेको बताउँछन् ।
अस्ट्रेलियामा विभिन्न कारणले विद्यार्थीहरु र युवा पुस्ताहरु विभिन्न नराम्रा गतिबिधिहरुमा संलग्न भएको पाईन्छ, यसलाई न्यूनिकरण गर्न प्रमुख रुपमा आफुले मानसिक स्वास्थ्यको विषयमा काम गर्न चाहेको उनको भनाई छ । युवाहरुलाई सकारात्मक काममा उत्प्रेरित गर्ने र उनीहरुलाई मानसिक रुपमा स्वस्थ बनाउने आफ्नो प्रमुख उद्धेश्य रहेको उनले बताए । नेपाल फेस्टिबलमा स्वंय सेवक भएर काम गरेका उनले एनआरएनए कप २०२३ संयोजन समेत गरेका थिए ।






