लण्डनको चाल्टन मैदानमा आज भब्य ग्रीनवीच कप महोत्सव हुँदै, खाना स्टल देखी सांगीतिक मनोरञ्जन सम्म अरु के के छ आकर्षण ?

राजन खकुराल, लन्डन। पछिल्ला केही वर्षदेखि साउथ इष्ट लन्डनको नेपाली मेलाकै रुपमा आयोजना हुँदै आएको ग्रीनवीच कप तथा महोत्सव यस पटक शनिबार २२ जुलाई मा हुने भएको छ।

यही जुलाई २२ तारिख शनिबार चाल्टन मैदानमा आयोजना गरिने एघारौ  ग्रीनवीच कप तथा महोत्सव प्रस्तुति र सहभागिता दुवै हिसाबले विगतमा जस्तै भव्य बन्ने आयोजक नेपाली युथ एसोसिएसन यूकेले जनाएको छ।

एशोसिएसन अध्यक्ष लछुमन गुरुङले कार्यक्रमलाई मेलाकै रुपमा व्यापक र मनोरञ्जनात्मक बनाउन कोशिश गरिएको जानकारी दिए।बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म्म चल्ने महोत्सवमा प्रवेश निशुल्क छ।

ग्रीनवीच कपको  प्रमुख आकर्षण ग्रीनवीच कप फुटबल प्रतियोगिता हो।खुलातर्फ बेलायतभरका जम्मा १२ टीमबीच प्रतिस्पर्धा हुनेछ भने ६ टीम भेट्रानहरुबीच पनि मैत्रीपूर्ण प्रतिस्पर्धा गराइनेछ साथै मैत्रीपूर्ण भलिबल पनि खेलाईने छ।

प्रतियोगिताको विजेतालाई ग्रीनवीचकपसंगै १५ सय पाउन्ड नगद र मेडल  पुरस्कार प्रदान गरिनेछ।  दोस्रो हुनेलाई ७ सय पाउन्ड नगदसहित मेडल छ। भेट्रानका विजेतालाई पनि ट्रफी र मेडल पुरस्कार दिइनेछ।

लाइभ सांगीतिक प्रस्तुति पनि महोत्सवको अर्को आकर्षक पक्ष छ। नेपालबाट आएका लोकदोहोरी कलाकारहरु साथमा, स्थानीय आर्केन ब्यान्ड लगायत अन्य लाइभ प्रस्तुति पनि रहनेछन्।महोत्सवस्थलमा विभिन्न नेपाली खानाका स्टल तथा केही व्यापारिक र च्यारिटी स्टलहरु समेत रहनेछन्।

महोत्सवको मुख्य स्पोन्सर साउथ इष्ट रिजनल तमुधिं छ।