आयोजक चिली क्वार्टरफाइनलमा

काठमाडौं,  ५ असार । बोलिभियालाई पराजित गर्दै आयोजक राष्ट्र चिली कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा चिलीले बोलिभियालाई ५–० को फराकिलो अन्तरले पराजित गर्‍यो । खेलमा चिलिलाई विजयी गराउन चाल्र्स अराङ्ग्वेजले २ तथा अलेक्सिस सान्चेज र ग्यारी मेडेलले १–१ गोल गरे । खेलको अन्त्यतिर बोलिभियाका खेलाडीले आत्माघाती गोल गरेपछि चिलीले एक गोल उपहार पाएको थियो ।
समूह ‘ए’मा दुई जित र एक बराबरी खेलेको चिली ७ अंक जोड्दै समूहको शीर्ष स्थानमा रहेको छ । चिलीसँग पराजित भए पनि ४ अंक जोडेको बोलिभियाले समूहमा दोस्रो हुँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ । शनिबार बिहान भएको यहि समूहको अर्को खेलमा मेक्सिको इक्वेडरसँग २–१ ले पराजित भएपछि बोलिभियाको भाग्य खुलेको हो ।
मेक्सिकोलाई क्वार्टरफाइनलमा प्रवेश गर्न यो खेल जित्नैपर्ने दबाब थियो । तीन खेलबाट २ अंक जोडेको मेक्सिको समूहको पुछारमा रह्यो । मेक्सिकोलाई पराजित गर्दै ३ अंकसहित तेस्रो स्थान ओगटेको इक्वेडरले भने क्वाटरफाइनल प्रवेशका लागि प्लेअफ खेल्ने मौका पाउने छ । प्रतियोगिताअन्तर्गत् आइतबार कोलोम्बिया र पेरु तथा ब्राजिल र भेनेजुएला भिड्ने छन् ।