काठमाडौं, ५ असार । खराब ऋणमा डुबेर अर्थव्यवस्था नै टाट पल्टन लागेको युरोपेली मुलुक ग्रीसको संकट टाल्न युरोपेली संघका नेताहरुको बैठक बस्न लागेकै बेला सर्वसाधारणले भने धमाधम बैंकहरुबाट पैसा निकाल्न थालेका छन् । ग्रीस संकटबारे छलफल गर्न युरोपेली नेताहरुले आगामी सोमबार बैठक गर्ने बताएकै बेला एक साताको बीचमा बैंकबाट लाखौं युरो निकालिएको हो । बैंकहरुबाट दुई अर्बभन्दा बढी पाउन्ड निकालिएको अनुमान लगाइएको छ ।
विहीबार ‘युरोजोन’का अर्थ मन्त्रीहरुको बैठक बसेको भएपनि कुनै समाधान निस्किएको थिएन । युरोग्रुपका प्रमुख येरुन डाइसलब्लूमले सामान्य प्रगति भएपनि कुनै सम्झौता हुन नसकेको बताए । आफ्ना ऋणदातासँग करार गर्नका लागि अब ग्रीससँग जम्मा दुई साताको मात्र समय बाँकी रहेको छ । ऋणदाता मुलुकहरु भने ग्रीसले आर्थिक सुधारका क्षेत्रमा निकै कठोरतापूर्वक खर्च कटौती गर्नुपर्ने भन्दै दबाब दिइरहेका छन् ।
ग्रीसको बैंकबाट सर्वसाधारणले निकाले अरबौं रकम






