लन्डन। अन्तरराष्ट्रिय मातृभाषा दिवसको उपलक्ष्यमा बेलायतको बेजिङस्टोकमा नेपाली समुदायसमेतको सहभागितामा एक विशेष कार्यक्रम सम्पन्न भएको छ।
बेजिंगस्टोक स्थित बेजिङस्टोकमा मल्टिकल्चरल फोरमले शुक्रबार आयोजना गरेको कार्यक्रम फोरमका अध्यक्ष शिवजी श्रेष्ठको अध्यक्षता तथा स्थानीय बेजिङस्टोकमा एण्ड डिन काउन्सिलका मेयर पउल मिलरको प्रमुख आतिथ्यतामा भएको थियो।
२७ देशका ७५ वटा सामाजिक तथा सांस्कृतिक संगठन आबद्ध फोरमले कोभिड महामारीपश्चात पहिलो पटक प्रत्यक्ष रुपमा यस्ता कार्यक्रमको आयोजना गरिएको कुरा फोरममा सचिव नितिन पाटिलले बताए।सो अवसरमा मेयर मिलरले संसारका विभिन्न देशहरुबाट आएका आप्रवासीहरुले काउन्सिल, स्थानीय संघ संस्था तथा सामुदायिक संस्थाहरुलाई समेटेर यस्ता कार्यक्रम आयोजना गर्नु सह्रानीय रहेको बताए।
सोहि अवसरमा हेड अफ द काउन्सिलर साइमन बाउन्डले फोरम बेजिंगस्टोकमा युनाइटेड नेसन्स जस्तो भएको कुरा बताउदै ७५ वटा विभिन्न सामुदायिक संगठनहरुलाई एक ठाउँमा राखेर सामुदायिक कार्य गर्नु प्रशंशा योग्य कार्य भएको बताए।
यसैगरी काउन्सिलमा लेबर काउन्सिल लिडर एन्डी माकर्मिकले मातृभाषाको जगेर्ना गर्दै आफ्ना बच्चाहरुलाई सिकाउन सक्नु भनेको आफ्नो भाषाको रक्षा गर्नु हो भन्दै यसलाई निरन्तरता दिन सुझाए। कार्यक्रममा सबैलाई स्वागत गर्दै अध्यक्ष शिवजी श्रेष्ठले संसार भर ७ हजार भाषा बोलिने तथा संसारका ८० प्रतिशत डिजिटल सामग्री अंग्रेजीमा भएपनि सपना भने आफ्नै मातृभाषामा नै देखिने बताउंदा सहभागीहरु भावुक बनेका थिए। 
ट्रष्टी देवश्रीले संचालन गरेको कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले आ-आफ्ना भाषामा विभिन्न प्रस्तुति दिएका थिए। यसैगरी नेपाली कलाकारहरु खुशी राई, दीपा लिम्बुसहित तीन जनाले नेपाली गीतमा नाच प्रस्तुत गरेका थिए भने नेपाली युवा सुशान्त श्रेष्ठले ४ वटा भाषा (अंग्रेजी, नेपाली, हिन्दि र स्पेनिश) मा आफ्नो प्रस्तुतीकरण गरेका थिए।
कार्यक्रममा बेजिंगस्टोक नेपाली समुदायका अध्यक्ष ओम गुरुङ, बेजिंगस्टोक हिन्दु सोसाइटीका निबर्तमान अध्यक्ष्य किशोर पटेल, अफ्रिकन सोसाइटीका अध्यक्ष नसिमा , एफ्रो क्यारेबियनका पउल ह्यामिल्टन, सिटिजेन एडभाइस ब्युरो प्रमुख ग्राहम, इटालियन कम्युनिटीका इलारिया कोर्नी, फार्नबोरो इन्डियन सोसाइटीका महेश कुमारलगायत विभिन्न देशबाट आएर बेजिंगस्टोकमा बसोबासरत व्यक्तित्वहरुको उपस्थिति थियो।
२७ देशका सामुदायिक नेताहरु संलग्न सो फोरममा पहिलो पटक नेपाली समुदायबाट शिवजी श्रेठले नेतृत्व गरिरहेका छन्।






