यूएईले दियो नेपाललाई ३११ रनको लक्ष्य

काठमाडौँ । विश्वकप क्रिकेट लिग-टूको आफ्नो अन्तिम खेलमा नेपाललाई युएईले ३११ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले आसिफ खानले आक्रामक ब्याटिङ मद्दतमा ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनायो । खानले नटआउट १०१ रन बताए । उनले मात्र ४१ बलमा सतक पूरा गरे । जम्मा ४२ बल खेल्दै खानले ११ छक्का र ४ चौकासहित १०१ रनमा अविजित रहे ।

यस्तै वृत्य अरबिन्दले ९४ र कप्तान मोहम्मद वासिमले ६३ रन बनाए । आक्रामक ब्याटिङ गर्दै वासिमले ४९ बलमा २ चौका र ६ छक्का प्रहार गरे ।

नेपालका दिपेन्द्रसिंह ऐरीले २ तथा सन्दीप लामिछाने सोमपाल कामी र ललित राजवंशीले एक एक विकेट लिए ।

नेपालले आज युएईलाई पराजित गर्न सके आउँदो जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा खेल्न पाउनेछ। पराजित भएमा यसै महिनाको अन्तिममा नामिबियामा हुने क्वालिफायर प्ले अफ खेल्नुपर्ने छ ।

नेपाल ३५ खेलमा ३८ अङ्कसहित चौथो स्थानमा छ । नामिबिया ३६ खेलमा ३९ अङ्कका साथ तेस्रो स्थानमा छ। आजको खेल नतिजाविहीन भए नेपाल र नामिबिया दुवैको ३९-३९ अंक हुनेछ। जित प्रतिशतका आधारमा नामिबिया विश्वकप छनोट खेल्नेछ ।