आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस,यस्तो छ ईतिहास

काठमाडौँ । आज ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ । नेपालमा पनि आज यो दिवसका अवसरमा विभिन्न कार्यक्रम हुँदैछन् ।

हरेक वर्ष ८ मार्चका दिन विश्वभरी यो दिवस मनाइन्छ । यो दिवसलाई कतिपयले अन्तर्राष्ट्रिय नारी दिवसको रुपमा पनि मनाउने गरेका छन् ।

नेपालका विभिन्न कम्युनिष्ट घटक निकट महिला संघसंस्थाले यो दिवसलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउँछन् भने कांग्रेस निकट संघसंस्थाले अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा मनाउने गरेको पाइन्छ ।

दिवसका अवसरमा आज नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । विशेषगरी महिला संघसंस्थाले आज विविध कार्यक्रम गर्दैछन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सरकारले आज देशैभरी सार्वजनिक बिदा दिएको छ ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको सम्झनामा विश्वभर यो दिवस मनाउने प्रचलन सुरु भएको हो ।

नेपालमा यस वर्ष ‘लैंगिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइँदै छ ।

दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताले शुभकामना सन्देश व्यक्त गरेका छन् ।

सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हडताल र विशाल जुलुस प्रदर्शन गरे ।

महिला हक अधिकारको माग गर्दै भएको सोही आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई लिने गरिन्छ ।

जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् ।

उनको प्रस्तावलाई सम्मेलनले पारित गरेपछि हरेक वर्ष ८ मार्चका दिन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन थालिएको हो ।