कोलम्बियासँग ब्राजिल पराजित

चिली, ३ असार । कोपा अमेरिका फुटबल अन्तर्गत समुह सी को खेलमा कोलम्बियाले ब्राजिललाई १-० ले हराएको छ । चिलीमा जारी प्रतियोगिता अन्तर्गत विहिबार बिहान सम्पन्न खेलमा कोलम्बियालाई विजयी गराउन जेईसन मुरीलोले ३६ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । खेलको समाप्तीपछि दुबै टोलीका खेलाडीहरुविच केही वेर तनाव भएपछि रेफ्रीले ब्राजिलका नेईमार र कोलम्बियाका कार्लोस बाकाले रातो कार्ड पाएका छन् ।
जीतपछि कोलम्बियाले समुहबाट दोस्रो चरण पुग्ने संभावना जिवित राखेको छ । दुई खेलबाट ब्राजिल र कोलम्बिया दुबै टोलीले ३-३ अंक जोडेका छन् । एक खेलबाट तीन अंक जोडेको भेनेजुएलाले समुहको दोस्रो खेलमा शुक्रबार बिहान पेरुसँग खेल्नेछ । यसअघि समुहको पहिलो खेलमा ब्राजिलले पेरुलाई २-१ ले हराएको थियो भने भेनेजुएलाले कोलम्बियालाई १-० ले हराएको थियो ।