सभामुखको प्रेस सल्लाहकारमा शेखर अधिकारी नियुक्त

काठमाण्डौ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको प्रेस सल्लाहकारमा पत्रकार शेखर अधिकारी नियुक्त भएका छन् ।

दुई दशक देखि पत्रकारितामा सक्रिय अधिकारीले रेडियो, छापा र अनलाइन सञ्चार माध्यममा काम गरिसकेका छन् । नेपाल टेलिभिजनको अनलाइन समाचार पूर्व सम्पादक समेत रहेका घिमिरेले मोफसल साप्ताहिक, सप्तकोशी एफएम, ब्लाष्ट टाइम्स दैनिक, अनलाइन खबर, ईकान्तिपुर लगायतका सञ्चार माध्यममा काम गरिसकेका छन् ।

अधिकारीले २०७५ देखि ०७७ सम्म संसद सचिवालयमा सञ्चार विज्ञको रुपमा काम गरेका थिए । मोरङको उर्लाबारी स्थायी घर भएका अधिकारीले पूर्वाञ्चल विश्व विद्यालयबाट आम सञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर गरेका छन् ।

अधिकारी नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको अध्यक्ष र प्रेस चौतारीको केन्द्रीय सदस्य भईसकेका छन् ।