लन्डन ।अन्तरजातीय प्रेम सम्बन्धका कारण जाजरकोटका नवराज विक र उनका अन्य पाँच जना साथीको रुकुमको सोतीमा हत्या भएको दुई वर्ष पुरा भएको छ। १० जेठ २०७७ मा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा भएको हत्याकाण्ड दुई वर्ष वितेपनि पीडितले अझै न्याय पाउन सकेका छैनन्।

यस्तो हृदयविदारक घट्नामा आधारित एक वृत्तचित्र सप्ताहन्त बेलायतमा देखाइयो । अल्डरसटस्थित प्यालेसमा नेपाल पत्रकार महासंघ बेलायतका पदाधिकारीसहित बेलायतका नेपालीहरुमाझ ‘अ स्याड सङ्स अफ लभ’ देखाइएको हो ।
उक्त वृत्तचित्र प्रदर्शन हुनु अघि आयोजित औपचारिक कार्यक्रममा प्रमुख अतिथी सृजनशील नेपाली समाज यूकेका संस्थापक अध्यक्ष तथा संरक्षक, एनआरएनए यूके पूर्व प्रमुख संरक्षक, विश्वहिन्दू महासंघ यूके संरक्षक, अल्डरसट भलिबल क्लवका संरक्षक एवं शिव कल्चरल कम्युनिटी सेन्टरका संरक्षक शेर सुनारले जुन देशमा जातीय संस्था हुन्छ, त्यो जातीय संस्थाका सदस्यहरुको मनोवल बढाइ अर्को जातीय संस्थाका सदस्यहरुबीच युद्ध हुने र देश सर्वनाशको बाटोमा जाने धारणा राखे ।
सृजनशील नेपाली समाज यूकेले यसअघि पीडित परिवारलाई करिब ६ लाख रुपैयां नेपाल पठाएको पनि समाजसेवी सुनारले स्मरण गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष ध्रुवराज अर्यालले वृत्तचित्र निर्माण पक्षको प्रशंसा गर्दै यसको बेलायत प्रदर्शनमा शाखाले सक्दो सहयोग गर्ने बताए ।
नेपालबाट आएका वृत्तचित्र निर्माता जीवनप्रकाश शेर्माले संवेदनशील विषय भएकाले आफूलाई वृत्तचित्र निर्माण गर्न इच्छा लागेको सुनाए ।
उनले बेलायतमा उक्त डकुमेन्ट्री देखाएर आएको रकम पीडित परिवारलाई प्रदान गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । वृत्तचित्र हेरेर पीडित परिवारलाई आर्थिक सहयोग गरिदिन उनले अपिल गरेका थिए ।
नेपाल आदिवासी जनजाती महासंघ बेलायत (नेफिन यूके) का अध्यक्ष कर्मा पहाडी शेर्पाले वृत्तचित्रले नेपालमा अझै जातीय उत्पीडनको विद्रुप रुप देखाएको बताउंदै आफ्नो संस्थाले रंगभेद दिवसका उपलक्ष्यमा आउंदो मार्च २१ मा उक्त वृत्तचित्र वृहत रुपमा प्रदर्शन गर्ने आश्वासन दिए ।
नेफिन महासचिव विमला सेनेले सञ्चालन गरेको उक्त कार्यक्रममा नेफिन यूके सल्लाहकार विश्वासदीप तिगेला, सृजनशील नेपाली समाज यूके अध्यक्ष भक्त दर्जी, किरात राई यायोख्या यूके अध्यक्ष योगेश राई लगायत पत्रकारहरुको उल्लेख्य सहभागिता थियो । कार्यक्रममा फोनिज यूके अध्यक्ष गोमा रानाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।






