लन्डन ।नेपालका भूकम्प पीडितका लागि क्षेत्री समाज यूकेले प्रधानमन्त्री राहत कोषमा ५ हजार १ सय २६ पाउण्ड सहयोग उपलब्ध गराएको छ । उक्त रकम ८ लाख १० हजार बराबर हुने समाजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सहयोग रकम समाजका अध्यक्ष प्रेम खड्काले कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीलाई आइतबार दूतावास लन्डनमा हस्तान्तरण गरे ।
नेपाली दूतावास लण्डनमा आयोजित हस्तान्तरण कार्यक्रममा समाजका पदाधिकारीको उपस्थिति थियो ।
सहयोग हस्तान्तरण कार्यक्रममा महासचिव टंक जिसी, सचिव नरेन्द्र बस्नेत, कोषाध्यक्ष राजा खड्का, धनबहादुर कुँवरलगायत सहभागी थिए । रकम हस्तान्तरण कार्यक्रमपछि समाजले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘थोपा थोपाले समुन्द्र बन्छ, त्यसरी नै यो सानो रकमले प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा थप सहयोग पुग्न सक्छ भन्ने समाजको ठहर छ ।’ नेपालमा आइलागेको विपत्तीमा प्रवासबाट सहयोग गर्ने नेपालीको कर्तव्य भएको समाजका पदाधिकारीहरुले बताए |
कार्यवाहक राजदूत क्षेत्रीले सहयोगी संस्था क्षेत्री समाजलाई समाजका पदाधिकारीलाई धन्यवाद दिंदै समाजको सामाजिक कार्यको प्रशंसा गरे ।यसैबीच नेपाली दूतावासले भूकम्प पीडितका लागि हालसम्म २ करोड रुपैयाँ प्रधानमन्त्री राहत कोषमार्फत् पठाइसकिएको जनाएको छ । उक्त संकलन कार्य जारी रहेको कार्यवाहक राजदूत क्षेत्रीले जानकारी दिदै हस्तान्तरित रकम सके सम्म छिटो प्रधानमन्त्री राहत कोषमा पठाउने जानकारी दिएका थिए ।







