निन्फा अस्ट्रेलियाको अध्यक्षमा सुदर्शन थापा मगर चयन

सिड्नी । नेपाली आदिवासी जनजाति फोरम (निन्फा) अस्ट्रेलियाको अध्यक्षमा सुदर्शन थापा मगर चयन भएका छन् । १८ डिसेम्बर सिड्नीको यसबरीमा भएको निम्फाको अधिवेशनले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

२ वर्षका लागि गठित समितिको उपाध्यक्षहरुमा लिल बहादुर  गुरुङ र सिमा सुब्बा, महासचिवमा अविरल तामाङ, सचिवमा धर्मेश राजवंशी, कोषाध्यक्षमा सिम्रिका चौधरी र सहकोषाध्यक्ष आर्यन चौधरी चयन भएका छन् ।

त्यस्तै सांस्कृतिक संयोजकमा भीम शमशेर गुरुङ, खेल संयोजक विक्रम शेरचन, कार्यक्रम संयोजक सुरेश शेरचन, आईटी संयोजक आशिष लोहारुङ चयन भएको निर्वाचन आयुक्त गणेश तामाङले घोषणा गरे ।

नवगठित समितिको सदस्यहरुमा राम सिप्तुङ्गा राई, उपेन्द्र श्रेष्ठ, घनेन्द्रराज फियाक, आशिष शेर्पा, चिराग प्रधान र जमुना वाइबा लगायत रहेका छन् । संरक्षण समितिमा संस्थापक अध्यक्ष गणेश तामाङ, पूर्व अध्यक्ष चित्रा थुम्बाहाम्फे, सामाजिक अभियान्ता छिरिङ लामा, पूर्व उपाध्यक्ष लक्ष्मण गुरुङ (पेम्बा) र पूर्व उपाध्यक्ष शशिचन्द्र राई चयन भएका छन् ।

अध्यक्षमा निर्वाचित भएपश्चात लण्डन नेपाल न्यूजसगं कुराकानी गर्दै अध्यक्ष थापाले कुनै जमानामा चिरपरिचित संस्थाको रुपमा रहेको निन्फालाई पुरानै अवस्थामा फर्काउन प्रयत्नरत रहने बताए । उनले संस्थाको उद्धेश्यमा विचलन आउन नदिई सिड्नीमा रहेका सम्पूर्ण नेपाली सघंसंस्थाहरुको सहकार्यमा नेपाली कला संस्कृति र धार्मिक पहिचान जोगाउने र पहिले भन्दा रचनात्मक भएर अगाडी बढ्ने धारणा व्यक्त गरे । उनी यसअगाडी संस्थाको महासचिव रहेका थिए ।

निन्फाले आदिवासी जनजातिहरुको हकहीतका लागि काम गर्दै आईरहेको छ । त्यस्तै कला संस्कृति जोगाउने र नेपालमा रहेका आदिवासी जनजातिहरुको हकहीतका लागि काम गर्ने र उनीहरुको सांस्कृतिक पहिचानलाई जोगाई राख्न विभिन्न कार्यक्रम गर्दै आईरहेको छ ।