काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्रीले शपथ लिएसँगै ३ उपप्रधानमन्त्री र ४ मन्त्रीले शपथ लिएका छन् ।
उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीक रवि लामिछाने रहेका छन् । पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालय लिएका छन् ।
मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहेका छन् । उनीहरुको कार्यभार पछि तोकिनेछ । उपप्रधानमन्त्री र मन्त्रीहरुले पनि आजै नै शपथ लिएका छन् ।
निर्मला पन्तको न्याय पहिलो निर्णयः
नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कन्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाउन अधिकतम पहल गर्ने बताएका छन् ।
आज उपप्रधान तथा गृहमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि लामिछानेले सिंहदरबारस्थित मन्त्रालय पुगेर पद्भार ग्रहण गरेपछि यस्तो निर्णय गरेका हुन् ।
पद्भार ग्रहणका क्रममा प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री लामिछानेले गृह मन्त्रालयका अधिकरीहरुलाई ‘निर्मला पन्तको न्यायका लागि थप पहल गर्ने’ निर्णय ल्याउन भनेका हुन् ।
कञ्चनपुरकी बालिका पन्तको २०७५ साउनमा बलात्कारपछि हत्या भएको थियो।






