पोल्यान्डमा नेपाली कन्सुलर अफिस उद्घाटन

लन्डन  । पोल्यान्डको राजधानी वार्सामा विधिवतरुपमा नेपाली समुदाय एवं विदेशी कूटनीतिक क्षेत्रका व्यक्तिहरुको उपस्थितिमा पोल्यान्डका लागि नेपाली कन्सुलर अफिसको  स्थापना गरिएको छ।  

शुक्रबार नेपाली र पोलिश राष्ट्रिय गान बजाएर शुरु गरिएको समारोहमा जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले कन्सुलर अफिस उद्घाटन गरेका थिए।

नेपाल सरकारद्वारा हालै  पोल्यान्डका लागि अवैतनिक  वाणिज्यदूत नियुक्त गरिएका डा. बोधराज सुवेदीको पहलमा उक्त अफिस स्थापना गरिएको  हो ।

करिब ६३ बर्ष लामो कूटनैतिक, राजनीतिक र सांस्कृतिक संबन्ध रहेको पोल्यान्डमा नेपालको इतिहासमा पहिलोपटक नेपालतर्फबाट अवैतनिक वाणिज्यदूत नियुक्त गरिएको हो ।

समारोहलाई सम्बोधन गर्दै पोल्याण्डका लागि गैरआवासीय राजदूत पनि रहेका जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले पोल्यान्डमा रहेका नेपालीहरुको हकहितको लागि आफु र नेपाली दूतावासको तर्फबाट सक्दो सहकार्य हिजो पनि गरेको, आज पनि गरिरहेको र भोलि पनि गर्न तयार रहेको बताए। 

उनले कन्सुलर अफिसको स्थापनापछि नेपाल तथा पोल्याण्डबीच सांस्कृतिक तथा आर्थिक सम्बन्ध अरु मजबूत हुने विश्वास व्यक्त गर्दै पोल्याण्डमा बसोबास गर्ने नेपालीहरुलाई पनि सहयोग पुग्ने बताए।

नवनियुक्त वाणिज्यदूत डा सुवेदीले  हिजो पनि आफुले विना स्वार्थ नेपाल र नेपालीका लागि निरन्तर काम गरेको र अहिले पाएको यो जिम्मेवारीले थप प्रेरणा, उर्जा र हौसला दिएको बताए। उनले पोल्याण्डमा रहेका सम्पूर्ण सामाजिक संघसंस्थालाई मिलाएर नेपाल र नेपालीको हकहितमा निरन्तर लागि पर्न सबैसंग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता पनि जाहेर गरे  

गएको ३३ वर्ष देखि पोल्यान्डलाई कार्यक्षेत्र बनाउंदै आएका  डाक्टर बोधराज सुबेदी पोल्यान्डस्थित नेपालीहरुको   हकहितका लागि क्रियाशील रहँदै आएका छन्। 

उनी गैरआवासीय नेपाली संघ पोल्याण्डका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक साथै पोलिश-नेप्लिज फाउन्डेशनका अध्यक्ष पनि हुन्। 

चिकित्सा क्षेत्रमा लामो समयदेखि कार्यरत डा. सुवेदीले पोल्यान्डमात्र नभै युरोपमा रहेका नेपालीहरुलाई पनि सेवा दिंदै आएका छन्

समारोहमा  पोल्याण्डको परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरू, विभिन्न देशका राजदूत तथा अवैतनिक वाणिज्यदूतहरु , पोल्यान्डका विभिन्न विश्व विद्यालयमा कार्यरत प्राध्यापकहरु, पोल्याण्डस्थित नेपाली संघ संस्थाका पदाधिकारी, साहित्यकार तथा उद्योगी व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो ।

सन् १९९० भन्दा पहिले दशजना भन्दा पनि कम नेपाली बसोबास गर्ने पोल्याण्डमा अहिले नेपालीहरुको संख्या चार देखि पाँच हजारको बीचमा रहेको अनुमान गरिएको छ।