चिलीको विजयी सुरुआत

आयोजक चिलीले कोपा अमेरिका फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । अमेरिकी महादेशको सबैभन्दा ठूलो फुटबल प्रतियोगिताको शुक्रबार बिहान सम्पन्न उद्घाटन खेलमा चिलीले  इक्वेडरलाई २–० ले हराएको हो । खेलमा चिलीलाई विजयी गराउन अर्टुरो भिडाल र इडुवार्डो भार्गासले एक–एक गोल गरे ।
चिली र इक्वेडर दुबै टोलीले अहिलेसम्म कोपा अमेरिकाको उपाधि जित्न सकेका छैनन् । यसपटक इंग्लिस क्लब आर्सनलका फरवार्ड अलेक्सिस सान्चेजको टोली चिलीलाई पनि दाबेदारको रुपमा हेरिएको छ । प्रतियोगिताको दोस्रो खेलमा शनिबार बिहान बोलिभिया र मेक्सिको भिड्नेछन् ।
प्रतियोगितामा दक्षिण अमेरिकाका १० र मध्य तथा उत्तर अमेरिकाका दुई गरी १२ राष्ट्र सहभागी छन् । प्रतियोगितामा सहभागी राष्ट्रहरुलाई तीन समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’मा आयोजक राष्ट्र चिलीसहित मेक्सिको, इक्वेडर र बोलिभिया छन् । समूह ‘बी’मा अर्जेन्टिना, साविक विजेता उरुग्वे, पाराग्वे र जमैका रहेका छन् भने समूह ‘सी’मा ब्राजिल, कोलम्बिया, पेरु र भेनेजुएला छन् ।