लण्डन । प्रतिनिधिसभा विघटनसँगै विभाजित बनेको नेपाल कम्युनिस्ट पार्टी नेकपाको विभाजनको असर तल्ला निकायहरूमा पर्न थालेको छ । कतै लुछाचुँडी सुरु भैसकेको छ भने कतै कसले पहिला पार्टी कार्यालय कब्जा गर्ने भन्ने होडबाजी सुरु भएको छ ।
यस्तो विषम परिस्थितिमा पार्टी विभाजनको प्रभाव वैदेशिक शाखाहरूमा पनि देखिनु स्वाभाविक हो ।
बेलायत स्थित नेकपा सम्बद्ध प्रवासी नेपाली एकता मन्च यूकेमा पनि विभाजनको आगो सल्किएको छ ।
हालसम्म नेकपा प्रचण्ड–माधव समूह र ओली समूहले छुट्टै गतिविधि गर्दै आएपनि आइतबारदेखि औपचारिक रुपमै विभाजन हुने देखिएको छ ।
आइतबार भर्चुअल रुपमा गृहमन्त्री रामबहादुर थापाको प्रमुख आतिथ्यतामा विशेष भेला गर्दै ओली समूहले भक्त गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति गठन गर्न लागेको हो ।
गैरआवासीय नेपाली संघ अन्तरराष्ट्र्रिय समन्वय परिषदमा बेलायतबाट मनोनित सदस्य रहेका गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति गठन गर्न लागिएको छ ।
हालसम्मको कार्यसमितिमा रहेका अध्यक्ष र सचिब प्रचण्ड–माधव समूहमा रहेको कारण ओली पक्षले नयाँ कार्यसमिति बनाउन लागेको हो ।
गत महिना प्रवासी नेपाली एकता मन्च यूकेको कार्यसमितिको पुर्ण बैठकमा ओली पक्षका दुई जना सदस्य मात्र संसद् विघटनको पक्षमा उभिएको थियो । सरस्वती केसी र हेम लिम्बुले मात्र प्रधानमन्त्रीको कदमको समर्थन गरेको हो ।
हालसम्मका अध्यक्ष राजेन्द्र पुडासैनी र सचिव सुरेश गौतम नेकपा (प्रचण्ड माधव) समुहमा लागेपछि ओली समूहका नेता गुरुङले प्रवास समुह यूके नामको संस्था मार्फत विभिन्न गतिविधिहरु गर्दै आएका थिए ।






