पाइपलाइन आईएसले विस्फोट गराए

बेरुत- इस्लामिक स्टेटका जिहादीहरूले सिरियाको पूर्वी भागबाट राजधानी दमासकसको बाहरी भागमा प्राकृतिक ग्यास पठाउने पाइपलाइन बुधबार बिहान विस्फोट गराइदिएको जानकारी सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले दिएको छ । अब्जरभेटरीले हमास प्रान्तको पूर्वमा रहेको टी–४ विमानस्थलनजिकै मध्यरातपछि उक्त पाइपलाइन आईएसले विस्फोट गराइदिएको उल्लेख गरेको छ । अब्जरभेटरीका प्रमुख रामी अब्देल रहमानले उक्त पाइपलाइनबाट जाने ग्यास दमासकसको बाहिरी भाग तथा होम्समा विद्युत उत्पादन गर्न तथा व्यक्तिगत घर तताउन उपयोग हुने गरेको जानकारी दिनुभयो ।
आईएसले होम्स प्रान्तका अनेकौँ ग्यास क्षेत्र आफ्नो नियनत्रणमा लिएको छ । यस समूहले हालै प्राचीन नगर पालमिरालाई आफ्नो नियन्त्रणमा लिएको थियो ।
यी क्षेत्र सिरियाको सङ्घर्षरत सरकारका लागि महत्वपूर्ण रहेका छन् । सरकारले आफ्नो नियन्त्रणमा रहेको क्षेत्रमा ऊर्जा उत्पादन गर्न यसै क्षेत्रमा भर पर्ने गरेको छ ।
अब्देल रहमानले सरकारको ग्यास आपूर्तिमाथि कुनै पनि आक्रमण महत्वपूण भएको र सरकारसँग स्रोत निकै कम भएको बताउनुभयो ।
आईएसले आफ्नो नियन्त्रणमा लिएको तेल क्षेत्रलाई आय आर्जन गर्न उपयोग गरिरहेको छ । यहाँ प्राकृतिक ग्यास प्रशोधन गर्ने काम निकै जटिल भएको बेरुतमा कारनेगी मिडिल इस्ट सेन्टरका विश्लेषक यजिद सायीघले बताए ।
उनले ग्यास पाइपलाइनको विस्फोट हुनु सरकारलाई उपलब्ध प्रमुख स्रोतबाट वञ्चित गर्नु रहेको आफ्नो लेखमा बताएका छन् । सरकारी सेनाले मे २१ मा पालमिरा आफ्नो नियन्त्रणबाट गुमाएको थियो । यसको केही दिनपछि नगरको दक्षिणपश्चिमी थप क्षेत्र पनि सरकारले गुमाएको थियो । सरकार सिरियाको उत्तरपश्चिमी इडलिब प्रान्तबाट पनि र्फिता भएको छ । यहाँ अल–नुस्र फ्रन्टले आफ्नो अवस्था बलियो बनाएको छ । सरकारी विमानहरूले बुधबार विद्रोहीले नियन्त्रणमा लिएको साराकेब क्षेत्रमा नियमित रूपमा हवाई आक्रमण गरिरहेको र त्यसबाट तीन बालबालिकाका साथमा १० व्यक्तिको मृत्यु भएको अब्जरभेटरीले जानकारी दिएको छ । सन् २०११ को मार्चमा सिरियामा सरकारविरोधी प्रदर्शन आरम्भ भएपछि यस द्वन्द्वका कारण यस मुलुकका दुई लाख ३० हजार जनताको मृत्यु भइसकेको छ र भने यसका कारण दशौँ लाख जनता विस्थापित भएका छन् ।