सिड्नी । त्यतिबेला अस्ट्रेलियामा नेपाली समुदायको बसाई पातलो थियो । कुरा सन् २००६ को हो । जतिबेला नेपाल फेस्टिबल अस्ट्रेलियाबाट पहिलो पटक सुरु भएको थियो । नेपाली मौलिक संस्कृति,कला र परम्परालाई अस्ट्रेलियाका समुदायमा प्रदर्शन गर्नु र नेपाली मौलिकपन बचाई राख्ने उद्धेश्यले अस्ट्रेलियामै नेपाली महोत्सव गर्नु सामान्य विषय थिएन ।
यति भव्य कार्यक्रमका परिकल्पनाकार थिए गैर आवासीय नेपाली सघं एनआरएनएका तत्कालिन अध्यक्ष मन केसी । केसीले एनआरएनएको काठमाण्डौमा भएको कन्फरेन्समा अस्ट्रेलियाको तर्फबाट प्रतिनिधित्व गर्दै नेपाल फेस्टिबलको अवधारणा राखेका थिए ।
नेपालीपन नेपाली मौलिकता र सिगों नेपालको प्रतिनिधित्व गर्ने कार्यक्रम गरी नेपाली पर्यटन, औद्योगिक क्षेत्र र नेपालको पर्यटन विकासमा टेवा पुर्याउने उद्धेश्य राखेर प्रस्तुत गरिएको अवधारणा प्रति धेरैले आश्चर्य चकित बन्न पुगे । विशाल उद्धेश्य राखेर ल्याईएको अवधारणालाई धेरैले नौलो र फरक एवम् महत्वपूर्ण ठाने । केसीले उक्त फेस्टिबलको सुरुवात अस्ट्रेलियाबाटै गर्ने बताएका थिए ।
उनको परिकल्पनालाई तत्कालिन एनआरएनएका पदाधिकारीहरुले पनि निकै साथ दिए । सोही अनुसार सन् २००६ मा सिड्नीमा नेपाल फेस्टिबल सिड्नीको आयोजना गरियो । कार्यक्रमले सफलता लिएपछि पहिलो कार्यक्रमको रुपमा सिड्नीबाट सुरु गरिएको फेस्टिबलले निकै नै मान्छेहरुलाई आकर्षित गर्यो ।
सिड्नीको नेपाल फेस्टिबल उद्धेश्य बमोजिम सफल भएपछि प्रत्येक २ वर्षमा नेपाल फेस्टिबल गर्ने निणर्य भयो । सोही बमोजिम पुन : २००८ मा अर्को नेपाल फेस्टिबल सिड्नी गरियो । यो कार्यक्रम पनि निकै नै सफल बन्यो ।
नेपाली कला संस्कृति, रितिरिवाज,खानपान, भेषभुषा लगायतका अन्य विभिन्न पक्ष समेटेर सिगों नेपालको प्रतिनिधित्व गर्ने नेपाल फेस्टिबल त्यशपश्चात सिड्नीमा मात्रै खुम्चिएन । यो बेलासम्म आईपुग्दा सिड्नी र मेलबर्न सहरमा नेपालीहरुको बसाई बाक्लिसकेको थियो । लगत्तै नेपाल फेस्टिबल मेलबर्न समेत सम्पन्न भयो । मेलबर्नको फेस्टिबलले पनि धेरैको ध्यान तान्यो । स्थानीय देखि नेपाली समुदायका व्यक्तिहरुले समेत कार्यक्रमको प्रशसां गर्न थाले ।
अष्ट्रेलियाका दुई सहरमा नेपाल फेस्टिवलले त्यो वर्ष आफ्नो प्रभाव जनाउन सफल भयो । त्यसपछि विस्तारै विश्वे्रेन, एडिलेड, पर्थ, डार्विनले नेपाल फेस्टिवल मनाउन थाले । यो वर्ष होवार्टले पनि नेपाल फेस्टिवल मनाउँदैछ र अर्को वर्ष क्यानवेरामा पनि नेपाल फेस्टिवल मनाउने तयारी छ । यसरी नेपाल फेस्टिबल अस्ट्रेलियाका विभिन्न सहरमा पुगेको छ ।
विभिन्न राज्यहरुमा हुने नेपाल फेस्टिबलले नेपालीलाई मात्रै उक्साएको छैन् अस्ट्रेलियन लगायत त्यहाँ रहेका अन्य समुदायका व्यक्तिहरुलाई समेत आकर्षित गरेको छ । फेस्टिबलले अर्को गर्विलो कुरा के गरेको छ भने यसबाटै अस्ट्रेलियामै जन्मिएका नेपाली नयाँ पुस्ताहरुलाई समेत मौलिक संस्कृति र रितिरिवाजको जानकारी हुनुका साथै पुस्तानान्तरणमा समेत मद्धत पुर्याएको छ ।
गैर आवासीय नेपाली सघं एनआरएनएको यो कदमलाई धेरैले प्रशंसा गर्दै आईरहेका छन् । अब नेपाल फेस्टिबल अस्ट्रेलियाका सहरहरुमा नेपाल चिनाउने र नेपाल बोल्ने एउटा पर्वको रुपमा समेत विकसित हुँदै गएको छ । फेस्टिबललाई नेपालीले मेला महोत्सव भन्दा पनि पर्वकै रुपमा मनाउन थालेका छन् ।







