सिडनी। गुल्मी समाज अस्ट्रेलियाको वार्षिक अधिवेशन सम्पन्न भएसँगै २०२६–२०२८ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरिएको छ। अधिवेशनले चतुर्भूज खरेललाई अध्यक्षमा चयन गरेको छ भने महासचिवमा किशोर भण्डारी चयन भएका छन्। उपाध्यक्ष पद भने पहिलो कार्यसमिति बैठकबाट मनोनित गर्ने जानकारी दिइएको छ। कार्यक्रममा संस्थाका प्रतिनिधि तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नेपालको गुल्मी जिल्ला घर भई अस्ट्रेलिया सिडनीमा बसोबास गर्दै आएका नेपालीहरूको साझा संस्था गुल्मी समाज अस्ट्रेलियाले स्थापना कालदेखि नै विभिन्न सामाजिक तथा परोपकारी कार्य गर्दै आएको छ। संस्थाले अस्ट्रेलिया र नेपाल दुवै स्थानमा समुदाय केन्द्रित गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ। हालै संस्थाले नेपालको दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम अघि बढाउने तथा त्यसलाई प्रत्येक वर्ष निरन्तरता दिने अठोट व्यक्त गरेको छ।
नवगठित कार्यसमितिमा राम अर्याल, विष्णु काफ्ले, भिक्टर थापा, राजन सुवेदी, अन्जु शर्मा घिमिरे, सचिन थापा, कमल थापा, जुना भण्डारी, लक्ष्मण क्षत्री, कमला सापकोटा भण्डारी, कोपिला भण्डारी, बासु खरेल र महेश श्रेष्ठ सदस्यका रूपमा रहेका छन्। नवनिर्वाचित कार्यसमितिले संस्थालाई अझ सक्रिय, पारदर्शी र समुदायमुखी बनाउँदै सामाजिक सेवा तथा सहयोगका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।






