तास्मानियामा पहिलो नेपाल फेस्टिबल हुँदै

सिड्नी । नेपाल चिनाउने उद्धेश्यले अस्ट्रेलियाका विभिन्न राज्यमा हुँदै आएको नेपाल फेस्टिबल तास्मानिया राज्यमा पनि हुने भएको छ । नोभेम्बर ६ तारिखमा तास्मानियाको पर्लामेन्ट्री गार्डन सालामन्का होबर्टमा ‘नेपाल फेस्टिबल तास्मानिया २०२२’को आयोजना गरिँदै छ ।

नेपाली मौलिक कला संस्कृति तथा नेपाली भेषभुषा,रहनसहन,खानपान तथा नेपाली मौलिक संस्कृतिको प्रवद्र्धन सगैं नेपाली संस्कृति झल्काउने नेपाल फेस्टिबल तास्मानियामा राज्यमा पहिलो पटक आयोजना गर्न लागिएको र कार्यक्रमको तैयारी लगभग अन्तिम चरणमा पुग्न लागेको एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा तास्मानिया सयोंजक राकेश शाक्यले लण्डन नेपाल न्यूजलाई जानकारी दिए ।

कार्यक्रमको आन्तरिक तैयारीसगैं अतिथिहरुको निमन्त्रणा, नेपाली कलाकारहरुलाई सहभागी गराउने लगायतका अन्य आवश्यक सम्पूण तैयारी लगभग अन्तिम चरणमा पुगेको शाक्यले बताए ।

फेस्टिबलमा परेड, नेपाललाई चिनाउने नेपाल हाउस, नेपाली कलाकारहरुको सागींतिक प्रस्तुतीसगैं अन्य विभिन्न कार्यक्रमहरु हुनेछन् । दिपक बज्राचार्यको द रिदम ब्याण्ड सहित अन्य स्थानीय कलाकारहरुले बेजोड सागींतिक प्रस्तुती दिनेछन् ।

फेस्टिबल सम्पन्न गर्न आयोजकले विभिन्न समिति तथा उपसमितिहरु बनाएर तैयारीलाई व्यापक रुपमा अगाडी बढाएको छ । तास्मानियामा रहेका स्थानीय व्यवसायीहरुले प्रायोजन गरेको कार्यक्रममा नेपाली र स्थानीय गरेर झण्डै १० हजार दर्शकहरु उपस्थित हुने आयोजकको अपेक्षा रहेको छ ।

आर्थिक व्यवस्थापनका लागि अलिकति समस्या भएपनि अन्य व्यवस्थापकिय पक्ष भने उत्कृष्ट बनेको र अब कार्यक्रम हुने दिनको प्रतिक्षामा रहेको शाक्यले बताए । तास्मानिया राज्यमा नेपाली बोल्ने भुटानीहरुको बसोबास रहेको क्षेत्र समेत रहेकाले उनीहरुलाई पनि समेटेर लैजाने कोशिस भईरहेको र उनीहरुको पनि सहभागीता पनि रहने उनको भनाई छ ।

फेस्टिबललाई केबिए ग्लोबल एजुकेसन एन्ड माइग्रेसन र आरजिआइटी अस्ट्रेलियाले मुख्य प्रायोजन गरेका छन् । भने अन्य दर्जनौँ सघंसंस्थाले प्रायोजन गरेका छन् ।