बेलायतमा नेपालकै झल्को दिने गरि देउसी भैलो खेलिंदै

फाइल तस्बिर

शिव भण्डारी
लन्डन । दशैं लगत्तै बेलायतमा तिहारका विशेष कार्यक्रम तय गरिएका छन् । बेलायतस्थित कयौं संघसंस्थाले तिहारको अवसरमा देउसी भैलो कार्यक्रम गर्ने तयारी गरेका हुन् ।

मोना युथ क्लव यूकेले आउंदो १६ अक्टोबर आइतबार बेलायतको अल्डरसटस्थित एम्पायर हलमा देउसी भैलो खेल्ने भएको छ ।

नेपाली कला संस्कृति र संस्कार जगेर्नाका लागि देउसी भैलो कार्यक्रम गर्न लागिएको आयोजकले जनाएका छन् ।

‘नेपालतिरकै झल्को मेटाउने गरी अझ भन्दा गाउँघरको याद दिलाउने गरी लाइभ बाजागाजा सहित लाइभ भोकलमा देउसी भैलो खेल्ने तयारी गरेका छौं’, बेलायतवासी गायक मधुसुदन थापाले लन्डन नेपाल न्यूजसंग भने, ‘यसपाली पनि नेपालदेखि आएका चर्चित अनि ख्यातिप्राप्त कलाकारहरूको साथमा भब्यरुपमा देउसी भैलो विशेष कार्यक्रम आयोजना गरिएको हुनाले बेलायतमा रहनु हुने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीलाई चुले निम्तो दिन चाहन्छु ।’

उता, नेपाली कलाकार प्रस्तोता समाज, बेलायतले पनि ‘तिहार विशेष’ कार्यक्रम गर्ने भएको छ । आगामी २३ अक्टोबरका दिन सेन्ट फ्रान्सिस चर्च हद आसफोर्डमा तिहार विशेष कार्यक्रम गर्न लागिएको आयोजकले जनाएका छन् ।

यसैबीच, शान्ति नेपाली समाज बेलायतले पनि १७ अक्टोबर सोमबार बर्मिङघममा दशैं तिहार कार्यक्रम गर्ने भएको छ । न्यू नाइट इन बैंक्यूटिङ सुइटमा गायक विलन थापामगर र गायिका गीता पाइजा पुनको सहभागितामा कार्यक्रम हुंदैछ ।

दशैं तिहार मनाउन यतिखेर बेलायतमा हांस्यकलाकारदेखि राष्ट्रिय तहका गायक गायिकाको ओइरो छ । कतिपय कलाकार फर्किसकेका छन् ।