क्याट यूकेको दशैं सांझमा गायक राज सिग्देलले नचाए दर्शक

लन्डन । बेलायतको च्यारिटेवल संस्था चितवन एड ट्रष्ट यूके (क्याट यूके) ले गत २ अक्टोबर सांझ दशैं शुभकामना कार्यक्रम गरेको छ ।

लन्डन हयारोस्थित ब्लु रुम स्पोर्टस् हलमा चर्चित गजल गायक राज सिग्देलको सांगीतिक प्रस्तुतिमा कार्यक्रम भएको हो ।

संस्थाले आफ्नो वार्षिक दशैं कार्यक्रम कोभिडका कारण दुई वर्ष पछि गरेकाले कार्यक्रममा बेलायतका चितवनेली, गैर चितवनेली र अन्य विभिन्न समुदायका गरि करिब दुई सयको सहभागिता रहेको क्याट यूके अध्यक्ष रितेशराज पाण्डेले बताए ।

कार्यक्रममा प्रमुख आकर्षण बनेका नेपालका चर्चित गजल गायक राज सिग्देलले आफ्ना चर्चित दर्जनौं गीत गाएर सहभागीलाई मन्त्रमुग्ध पारेका थिए ।

सो अवसरमा सन्जिता देउजा, अजिता सिम्खडा, नारायण गाउंले लगायतले कविता वाचन गरेका थिए । विनु लामिछाने घिमिरेले आकर्षक नृत्य प्रस्तुत गरिन् ।

क्याट यूके अध्यक्ष रितेशराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी एनआरएनए आइसीसी अध्यक्ष कुल आचार्यले दशैं तिहार शुभकामना दिंदै च्यारिटी संस्था क्याट यूकेले गरिरहेका परोपकारी कार्यको प्रशंसा गरे ।

अध्यक्ष पाण्डेले दशैं शुभकामना दिंदै सहयोगी र दर्शक सबैप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

सो अवसरमा गायक सिग्देललाई क्याट यूकेको तर्फबाट अध्यक्ष पाण्डे र प्रमुख अतिथी आचार्यले सम्मान पनि गरेका थिए ।

ट्रष्टी कृष्ण तिवारीले संयोजन गरेको उक्त कार्यक्रममा महासचिव रमेश श्रेष्ठले स्वागत मन्तव्य दिए ।