बडादसैं सुरु, आज घटस्थापना

काठमाडौँ । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दै छन्।

घरको पूजा कोठा वा दसैँ घरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्री देवीलाई आह्वान गरी पूजा आराधना गरिन्छ। नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्री दुर्गाको नौ मूर्तिमध्येको एक हो।

गिरिराज हिमालयकी पुत्री पार्वतीदेवी नै शैलपुत्री भएको देवी कवच, मार्कण्डेयलगायत पुराणआदि ग्रन्थमा उल्लेख गरिएको छ। शैलपुत्री देवीलाई सबैकी अधिश्वरीका रुपमा पूजा आराधना गरिन्छ।

हिमालयको तपस्या र प्रार्थनाले शैलपुत्री देवी प्रसन्न भएर उनको पुत्रीका रुपमा उत्पन्न भएको पनि विभिन्न पुराणमा उल्लेख गरिएको छ। आज घटस्थापनासँगै काठमाडौँ उपत्यकालगायत देशभरका शक्तिपीठमा पूजा, आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ।.

घटस्थापनाको साइत १०:२३ मा, झन्डा फेर्ने ११:११ मा

नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार घटस्थापनाका लागि बिहान १०:२३ बजेको साइत शुभ रहेको छ। समितिका कार्यकारी निर्देशक सुर्यप्रसाद ढुंगेलका अनुसार झन्डा फेर्ने साइत ११:११ बजे उत्तम रहेको छ।

आजबाट घडा स्थापना गरी शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने गरेको छ। पूजाकोठा, दसैंघर अथवा कोतमा दियो कलश र गणेश थापी नवदुर्गाको स्थापना गर्ने चलन छ। कतैकतै भने ब्रह्माको पनि स्थापना गरिन्छ।

घटस्थापनाका दिन पूजा कोठामा घैंटो अथवा घडामा जलभरि माथिपटि आँप, चाप, वरपिपलको पात राख्ने परम्परा छ। यो घडा वरिपरि गाईको गोबर टाँसेर त्यहाँ जौ उमार्ने चलन छ।

कलशको स्थापना गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँबाट ल्याइएको चोखो बालुवा या माटोमा जौ छरिन्छ। बिहानै उठेर नुहाइधुवाइ गरी चोखो भएर पूजाकोठामा बालुवा अथवा चोखो माटो राखी जौ र मकैको बीउ उमार्ने गरिन्छ।

त्यही नजिकै थालीमाथि सुनको प्रतिमा राखी नवदुर्गा थाप्दै १० दिनसम्म पूजा गर्ने गरिन्छ। कहीँकहीँ मकै र गहुँको प्रयोग भए पनि अधिकांश स्थानमा जौ छर्ने प्रचलन रहेको छ।

माता भगवतीलाई मनपर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जमरा उमार्ने गरिएको शास्त्रमा उल्लेख छ।