हिटरबाट सल्केको आगोले सिड्नीमा एक नेपालीको घर जल्यो,२ विद्यार्थी घाईते !

सिड्नी । सिड्नीमा हिटरबाट सल्केको आगोले एक नेपालीको घर जल्दा २ जना घाईते भएका छन् ।

बुधबार बिहान करिब ३ बजे सिड्नीको हर्सफिल स्थित नेपालीको युनिटमा आगालागी हुँदा उक्त घरमा रहेका एक विद्यार्थी जलेर गम्भीर घाईते भएका छन् भने अर्का एक जना विद्यार्थी पनि सामान्य घाईते भएका छन् ।

रुपन्देहीको बुटबल घर भएका २१ वर्षीय गम्भीर विद्यार्थीको हातखुट्टा र घाँटी जलेको र उनको रोयल नर्थसोर अस्पतालमा आईसियुमा उपचार हुँदै गरेको बताईएको छ । सामान्य घाईते अर्का विद्यार्थी भने प्राथमिक उपचार पछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

३ जना बस्दै आएको उक्त युनिटमा एकजना साथी बाहिर गएका थिए । कोठामा बालिएको हिटरबाट आगो सल्किएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । गम्भीर घाईते विद्यार्थीलाई फायर एण्ड रेस्क्यू न्यू साउथ वेल्सले चिन्ताजनक अवस्थामा उद्धार गरेको थियो भने सामान्य घाईते आफै आगलागीपछि घर बाहिर निस्किएका थिए ।

स्मोक अलाम बजेपछि तीन तले भवनमा बस्ने अन्य २० जना बाहिर निस्किएका थिए । अस्पतालमा उपचाररत घाईतेको अहिले स्वास्थ्यअवस्था विस्तारै सुधार हुँदै गईरहेको गैर आवासिय नेपाली संघ न्यु साउथ वेल्स राज्य परिषद संयोजक देव गुरुङले जानकारी दिए ।

आफुले बिरामीलाई अस्पतालमा गएर भेटेको र अहिले अवस्था सुधार हुँदै गईरहेको उनले बताए । पछिल्लो समय भईरहेका यस्ता आगलागीका घटनाहरु प्रति उनले दुख व्यक्त गरे ।  घाईतेको अवस्थाका बारेमा बुझ्ना गएका महावाणिज्य दुत दिपक खड्का पनि गएका थिए । घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ ।

दोहोरिँदै आगलागीका घटना

सिड्नीमा आगालागीबाट भएको घटना यो चौँथो हो । कमसल हिटर प्रयोग गर्ने र सावधानी नअपनाउँदा मानवीय क्षति नभएपनि थुप्रै आर्थिक तथा भौतिक क्षति बेहोर्नुपरेको छ ।

पहिलो घटना केही समय अगाडी ग्रानभीलमा भएको थियो । नेपालबाट भर्खर मात्रै आएका उनीहरुको आगलागीबाट लत्ताकपडा सबै जलेर नष्ट भएको थियो । उनीहरुपनि हिटर बालेर सुत्दा आगालागी भएको थियो । धनजनको भने क्षति हुन पाएको थियो ।

त्यस्तै केही समय अगाडी नै लिडकममा पनि यस्तै घटना भएको थियो । हिटर बालेर सुतिरहेको बेला हिटर पग्लिएर आगलागी भएको थियो । आगलागी भएको थाहा पाएपछि उनीहरुले केही सामाग्रीहरु बाहिर निकाल्न सफल भएका थिए । त्यति धेरै क्षति हुन नपाएपनि उनीहरुका केही सामाग्रीहरु भने जलेर नष्ट भएका थिए ।

तेश्रो घटना पनि केही समय अगाडी केम्सीमा समेत आगलागीमा परि नेपाली विद्यार्थीको लत्ताकपडा र कागजपत्र समेत जलेर नष्ट भएका थिए । नेपालबाट ल्याएका सम्पूर्ण लत्ताकपडा तथा कोठामा रहेका सामाग्रीहरु र कागजपत्र समेत जलेका थिए । यस्तो घटना बारम्बार दोहोरीरहेको छ । मानवीय क्षति नभएपनि जोखिम भने बढ्दै गईरहेको छ । हिटर प्रयोग गर्दा र खरिद गर्दा पनि सावधानी अपनाउनु जरुरी देखिन्छ ।

फोटो : फायर एनएसडब्ल्यू (FRNSW)