राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधिसभाबाट हुबहु पारित

काठमाण्डौ । राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पनि प्रतिनिधिसभाबाट पारित गरिएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा निर्णयार्थ पेश गरिएको सो प्रस्ताव बहुमतले पारित भएको हो । जस अनुसार प्रस्तावको पक्षमा १३५ मत, विपक्षमा ६० यति मत परेको थियो ।

सभामा तत्काल कायम रहेको सदस्य संख्या १९५ रहेको र प्रस्तावको पक्षमा बहुमत रहेकाले सो प्रस्ताव बहुमतले पारित भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरे । यसअघि सो विधेयकबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले सो विधेयक अव रोकेर राख्न सक्ने अवस्था नरहेको बताएका थिए ।

उनले प्रमुख प्रतिपक्ष दल एमाले नेतृत्वको अघिल्लो सरकारले ल्याएको विधेयकअनुसार नै सो विधेयक आएकाले त्यसको विरोध गर्न नमिल्ने तर्कसमेत गरे । गृहमन्त्री खाँणले सरकारले सो विधेयक संविधान अनुकूल हुने गरी ल्याएको दावी गरेका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक ५ भदौ आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।