सामाजिक सञ्जाल ट्वीटरले अमेरिकी सरकारविरुद्ध मुद्दा दर्ता गरेको छ। निगरानी कानुनलाई लिएर ट्वीटरले मंगलबार क्यालिफोर्नियास्थित एक अदालतमा अमेरिकाको फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) र न्याय विभागविरुद्ध मुद्दा दर्ता गरेको हो।
अमेरिकी सरकारले सरकारी निगरानीसँग सम्बन्धित प्रतिवेदन ट्वीटर उपभोक्तामा अनलाइन साझा गर्नमा प्रतिबन्ध लगाएको कारण मुद्दा दर्ता गरिएको बताइएको छ। ट्वीटरले अमेरिकी सरकारले सामाजिक सञ्जालहरूमा गरेको ‘जासुसी’ सम्बन्धी जानकारी आफ्नो प्रयोगकर्तासम्म पुर्याउन खोजेको देखिन्छ।
सान फ्रान्सिस्कोस्थित ट्वीटर कम्पनीले एक पारदर्शिता प्रतिवेदन तयार गरेको थियो र प्रकाशन पूर्व समिक्षाको लागि यो वर्षको अप्रिल महिनामा एफबीआईलाई सुम्पेको थियो। फोब्र्सका अनुसार ट्वीटरले आफ्नो उपभोक्तालाई सन् २०१३ को जुलाईदेखि अक्टोबर ३१ सम्म राष्ट्रिय सुरक्षाको कति पत्र तथा विदेशी गुप्तचर निगरानीसम्बन्धित कति आदेश प्राप्त भयो भन्ने कुरा बताउन चाहेको छ। अमेरिकी न्याय विभागले ट्वीटरको उजुरीको समिक्षा भइरहेको जनाएको छ।
ट्वीटरले अदालतमा पेस गरेको १९ पेजको उजुरीपत्रमा अमेरिकी सरकारले ट्वीटर खातामा निगरानी सीमित गर्न सक्ने गरेर तथ्यांकहरू प्रस्तुत गर्न खोजेको उल्लेख छ। कम्पनीको भनेको छ,’सरकारको अहिलेको नियमले ट्वीटरलाई सरकारी अधिकारीद्वारा स्विकृत सामग्री सार्वजनिक गर्ने कि नगर्नेमा अन्योलमा पारेको छ।’ मुलुकको संविधानअनुसार जानकारी उपभोक्तासम्म पुर्याउन आवश्यक रहेको समेत ट्विटरले बताएको छ।






