लन्डन । गोर्खाहरुका मागका विषयमा लामो समयदेखि आन्दोलनरत भूपू गोर्खाहरुले बेलायत र नेपाल सरकारबीच हुने भनिएको वार्ताको मिति नतोकिए कठोर आन्दोलन थाल्ने चेतावनी दिएका छन् ।
दुई देशबीच हुने वार्ताको टर्म्स अफ रिफरेन्स (टिओआर) र वार्ता मिति नतोकिए पहिलो आन्दोलन दुतावासबाटै थाल्ने चेतावनी दिएका हुन् ।
बिहिवार लण्डन स्थित नेपाली दूतावास पुगेका भूतपूर्व गोर्खा संगठनका प्रतिनिधिहरुले राजदूत ज्ञानचन्द्र आचार्य समक्ष आक्रोश पोख्दै नयां चरणको आन्दोलन गर्ने चेतावनी दिएका हुन् । भोक हड्ताल जस्ता कठोर आन्दोलन गर्ने चेतावनी दिंदै भूतपूर्व गोर्खाहरुले त्यो आन्दोलन राजदूतावासबाटै हुने बताएका हुन् ।
गोर्खा सत्याग्रहका अभियान निर्देशक ज्ञानराज राईले लण्डन नेपाल न्यूजसगं कुराकानी गर्दै ब्रिटिशले मात्रै नभएर नेपाल सरकारले समेत आफुहरुलाई अन्याय गरेको बताए ।
गोरखा भूतपूर्व सैनिक संघ (गेसो)का कार्यबाहक सभापति धर्मबहादुर तामाङले वार्तालाई टार्दै लाँदा गोरखाहरुको धैर्यताको बाँध फुट्न सक्ने र त्यसले कस्तो दिशा लिने हो आफूहरुले भन्न नसक्ने पनि बताए
आफुहरुलाई पटक पटक आश्वासन दिँदै टार्ने मात्र काम गरिएको भन्दै बैठकमा सहभागी धन गुरुङले अब कठोर आन्दोलनको विकल्प नभएको बताए ।
दुताबासमा गोर्खा प्रतिनिधिमण्डलमा सत्याग्रह, गेसो, बिजिडब्लुएस्, नेसा, गोर्खा जस्टिस ग्रुप लगायतका प्रतिनिधि सहभागी थिए ।






